काठमाडौं । अहिले संखुवासभा र भोजपुरका अधिकांश मानिसहरू रुद्राक्षको बोटमा देखिन्छन् । रुद्राक्षको व्यापार तथा व्यवसाय गर्नमा किसानदेखि व्यापारीसम्म लागिपरेका छन् ।
किसानलाई ठुलामुखि (मुख्दार) रुद्राक्ष संकलन गर्न र व्यापारीलाई रुद्राक्ष किन्न भ्याइनभ्याई छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष मुख्दारको उत्पादन बढी भएको र बजारमा पनि अत्याधिक ठूला मुखे दानाको कारोबार भइरहेकोले किसानदेखि व्यापारीहरु रुद्राक्षकाे पछि लागेका हुन् ।
मुख्दारको उत्पादन भएपनि रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । तर, रुद्राक्षको उचित मूल्यका साथ नै रुद्राक्षको कारोबार भइरहेको रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार चापागाईंले बताए ।
संखुवासभा र भोजपुर किसानको मुख्य आम्दानीको स्रोत रुद्राक्ष हो । धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने र बजार मूल्य पनि राम्रो भएकाले कृषकले खेतीयोग्य जमिनलाई रुद्राक्ष खेतीका रूपमा परिणत गरेका छन् । प्रायः जसो रुद्राक्षको कारोबार भदौबाट सुरु हुन्छ । रुद्राक्षको कारोबार सुरु भएदेखि हालसम्म २१ मुखे रुद्राक्ष मात्रै विभिन्न ठाउँमा करिब २० वटा फलेको चापागाईंले बताए ।
२१ मुखे रुद्राक्ष धेरै बिक्री भइसकेको छ भने केही किसानहरूले बिक्री गर्न चरणमा छन् । सो रुद्राक्ष थोरै रुद्राक्षको बगैचा मात्र फल्ने गर्छ । चापागाईंका अनुसार सो रुद्राक्ष प्रति गोटा ५ लाखदेखि ४० लाख रुपैयाँसम्ममा किनबेच भएको छ ।
२१ मुखे रुद्राक्ष संम्भवत अहिलेसम्मकै सबै भन्दा धेरै फलेको हो । बजारमा सबैभन्दा बढी २१ मुखे दानाको माग छ । रुद्राक्षमा हुने सबै गुण २१ मुखे दानामा हुने मान्यता रहेकाले यसको माग बढेको अध्यक्ष चापागाईं बताउँछन् ।
‘यस वर्ष मुख्दार रुद्राक्षको उत्पादन धेरै छ, व्यापारीहरुले दानाको साइज आकार हरेर राम्रो दानाको राम्रो नै मूल्यमा खरिदबिक्री भइरहेको छ,विगतका वर्षहरूमा जस्तो अहिले भने ठुला मुखी दानाको मूल्य छैन, किसानलाई मर्का नहुने गरी किनबेच भइरहेको छ,’ उनले भने ।
चापागाईंका अनुसार अहिले २६ मुखेसम्मको रुद्राक्ष उत्पादन भएको छ । २६ मुखे उत्पादन भए पनि २१ मुखे रुद्राक्षको नै बढी मूल्य पर्न जान्छ ।
विदेशी व्यापारीको उपस्थिति कम भएसँगै रुद्राक्षको मूल्यमा कमि आएको हो । नेपाली बजारमा उत्पादन भएको रुद्राक्ष विशेष गरी चाइना र भारतमा निर्यात हुँदै आएको छ ।
विगत वर्षहरूमा घर-घरमा पुग्ने भारतीय र चिनियाँ व्यापारी अहिले भने आएका छैनन् । राम्रो र आकर्षक ५ मुखे रुद्राक्ष उच्च मूल्यका साथ चीन निर्यात हुँदै आएको थियो ।
यस वर्ष चाइनिज व्यापारी नआउँदा नेपाली रुद्राक्ष व्यपारीहरु आत्तिएका छन् । करोडौं रुपैयाँमा रुद्राक्ष ठेक्का लिएर व्यपारीहरुले ५ मुखे रुद्राक्ष बिक्री गर्न पाइएन भने लगानी फस्ने चिन्ता उनीहरुलाई छ । हाल देशका ४५ वटा जिल्लामा रुद्राक्षको व्यवसायिक खेती भइरहेको छ । रुद्राक्ष उत्पादनको मुख्य क्षेत्र भने पूर्वी नेपालको भोजपुर र सङ्खुवासभालाई लिइन्छ ।