काठमाडौं । घरजग्गा व्यवसायीहरुले समस्यामा परेको गुनासो गरेपनि तथ्यांकले भने समस्यामा नपरेको देखाएको छ । नेपाल सरकारले बजेटमार्फत् घरजग्गा क्षेत्रमा गरेको कडाइ र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थामा गरेको परिवर्तनले व्यवसायीहरुले सममस्या सिर्जना भएको भनिएपनि तथ्यांकले भने खासै समस्या नभएको देखिएको हो ।
घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा नदिएको र घरजग्गा कारोबार सुस्ताएको भनेपनि बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा व्यवसायमा गरेको लगानीले उनीहरुको गुनासो गलत रहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा नै बैंकहरुले घरजग्गा व्यवसायमा सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यसअघि साढे १ खर्बको हाराहारीमा घरकर्जा लगानी गर्ने बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा भने २ खर्ब लगानी प्रवाह गरेका हुन् । यसले पनि घरजग्गा व्यवसायीहरुले कर्जा पाइरहेको र खासै समस्या पनि नभएको देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा २ खर्ब ११ अर्ब ५४ करोड २० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् । गत वर्षको साउनको तुलनामा चालु आवको साउनमा बैंकहरुले २८ प्रतिशतले कर्जा बढाएका छन् । गत वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जामा १ खर्ब ६५ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको साउनमा प्रवाह भएको कर्जा हालसम्मकै उच्च हो । यसअघि उक्त रकम बराबरको घरजग्गा कर्जा प्रवाह भएको थिएन ।
सरकारले गत जेठमा भूउपयोग नियामवली जारी गर्दै जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने नीतिले घरजग्गा कारोबारमा सुस्ताता आएको व्यवसायीहरुले बताउँदै आएका छन् । सरकारले हालका लागि कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा अनिवार्य वर्गीकरण गरेर मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा जाने कर्जामा केही कडाइ गरेको छ । यी नीतिगत व्यवस्थाले आफुहरुलाई बैंकको ऋण पाउनेदेखि घरजग्गा खरिदबिक्रीमा समस्या भएको उनीहरुको भनाइ छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कारोबारको कुल मूल्याांकनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत धितोमा कर्जा पाइने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले जग्गा धितोमा राखेर कर्जा लगानी गर्न बन्द गरेसँगै कारोबार ठप्प भएको गुनासो उनीहरुको छ । तर, तथ्यांकले कर्जा बढी नै लगानी भएको देखिन्छ ।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छा बहादुर वाग्लेले कित्ताकाट रोकिएकाले ठूलो समस्या भएको बताए । उनले राष्ट्र बैंकको तथ्यांकमा कर्जा लगानी बढेको देखाएपनि वास्तविक व्यवसायीले कर्जा नपाएको बताए ।
‘घर जग्गाको वर्गिकरण सम्बन्धी कानुन आएपछि स्पष्ट भएन, हालसम्म जग्गाको वर्गिकरण हुन नसक्दा कारोबार अन्योलमा छ, राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले घरजग्गा व्यवसायलाई निरुत्साहित बनाएको छ, वास्तविक व्यवसायीले कर्जा पाइरहेका छैनन्,’ उनले भने ।
घरजग्गामा बढी लगानी गर्ने ‘टपटेन’ बैंक
घरजग्गा क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने बैंकको रुपमा नबिल बैंक देखिएको छ । नबिल बैंकले साउन महिनामा मात्रै २९ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ । घरजग्गा क्षेत्रमा बढी लगानी गर्ने बैंकको दोस्रो नम्बरमा एनआइसी एसिया बैंक रहेको छ । यस बैंकले २० अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ ।
यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि घरजग्गामा १६ अर्ब ५४ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । यस क्षेत्रमा बढी लगानी गर्ने बैंकको चौथो नम्बरमा प्राइम कमर्सियल बैंक छ । यस बैंकले १३ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस्तै, मेगा बैंकले ११ अर्ब ३१ करोड, ग्लोबल आइएमईले १० अर्ब ५ करोड, नेपाल बैंकले ९ अर्ब ४ करोड, सेञ्चुरीले ८ अर्ब ५१ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ अर्ब ६२ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्टले ७ अर्ब ४५ अर्ब रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा लगानी गरेका छन ।
लागत ३२.२७ प्रतिशतले बढ्यो
गत वर्षको तुलनामा घरजग्गा व्यवसायीलाई घरजग्गा कर्जाको ब्याजदर भने केही महँगो पर्न गएको छ । गत वर्षको साउन महिनामा औसत ९.०४ प्रतिशत ब्याजदरमा कर्जा पाइरहेको घरजग्गा व्यवसायीले चालु आर्थिक वर्षको साउन महिनामा भने औसत १२.४१ प्रतिशत ब्याजदर तिर्नु परेको देखिन्छ ।
यो एक वर्षको अवधिमा घरजग्गा व्यवसायीको लागत ३२.२७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको भदौ महिनामा घरजग्गा व्यवासायीले ९.१२ प्रतिशत, असोजमा ९.१४ प्रतिशत, कात्तिकमा ९.४५ प्रतिशत ब्याजदर तिर्नु परेको देखिएको छ ।
व्यवसायीले घरजग्गा कर्जा पनि निरन्तर बढेको देखिएको छ । गत आबको भदौमा व्यवसायीले १ खर्ब ६५ अर्ब ६४ करोड, असोजमा १ खर्ब ७१ अर्ब ४१ करोड, कात्तिकमा १ खर्ब ७४ अर्ब ८५ करोड रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यस्तै, व्यवसायीहरुले मंसिर महिनामा ९.६३ प्रतिशतमा १ खर्ब ७६ अर्ब ९३ करोड, पुसमा ९.७३ प्रतिशत ब्याजमा १ खर्ब ८० अर्ब ७८ करोड, माघमा १०.७७ प्रतिशतमा १ खर्ब ८१ अर्ब २० करोड, फागुनमा १०.९४ प्रतिशत ब्याजदरमा १ खर्ब ८२ अर्ब ३० करोड र चैत महिनामा ११.०२ प्रतिशत ब्याजदरमा १ खर्ब ७१ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै, बैशाखमा ११.८९ प्रतिशत ब्याजदरमा १ खर्ब ९२ अर्ब, जेठमा ११.९६ प्रतिशत ब्याजमा १ खर्ब ९५ अर्ब ६२ करोड र असारमा ११.८३ प्रतिशत ब्याजदरमा १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
कारोबारमा निरन्तर गिरावट
घरजग्गा व्यवसायीहरुले बैंकबाट ऋण बढी नै लिएको भएपनि कित्ताकाट र खरिदबिक्री भने घटेको देखिन्छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारमा निरन्तर गिरावट देखिएको छ ।
साउन महिनामा घरजग्गा कारोबारको संख्या ३३ हजार ८३४ छ भने भदौमा ३४ हजार ७२० घरजग्गा किनबेच भएका छन् । साउनको तुलनामा भदौमा करिब ८८९ बढी घरग्गा किनबेच भएका छन् । गत असारमा ४७ हजार २७ वटा घरजग्गा किनबेच भएका थिए । विभागका अनुसार भदौमा ३ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
राष्ट्र बैंक भन्छ : बैंकहरुले नाफा बढाउन घरजग्गा नै देखे
नेपाल राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाहरुले नाफा बढाउनकै लागि भएपनि घरजग्गामा बढी लगानी गरेको हुन सक्ने बताएको छ । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले बैंकहरुले नाफा बढाउनकै लागि बैंकहरुले घरजग्गा कर्जा बढाएको धारणा राखे ।
‘राष्ट्र बैंकले जे जति वित्तीय स्थायित्वका लागि नीतिगत व्यवस्था गर्ने हो, बैंकहरुको नाफामै प्राथमिकता हुन्छ, अहिले बैंकहरुले धितो बढी लिएर कर्जा प्रवाह गरेको देखियो,’ उनले भने ।
उनले नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा ३०÷४० प्रतिशतको सीमा नीति बैंकहरुको रिकभरी सहज होस्, कर्जाको गुणस्तर वृद्धि होस्, नियामकलाई र ऋणीलाई पनि सहज होस् भनेर ल्याएको बताउँदै अहिलेको घरजग्गा कर्जाको वृद्धि अस्वभाविक भने नभएको बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा कोरोनाको कारण बिजनेस नभएको, तरलता बढी भएको र त्यसबेला कर्जा कम भएको हो । अहिले अवस्था सहज भएपछि कर्जा बढेको हुन सक्ने उनको तर्क छ । कर्जाको यो भालुम देखेर झस्किनु पर्ने अवस्था भने नभएको उनको धारणा छ ।