मनग्य आम्दानी गर्न थाल्यो रेल, यात्रुको भीड भएपछि अर्को रेल किन्न प्रस्ताव

<p>काठमाडौं । नेपाल रेल्वे कम्पनी थप अर्को रेल खरिद गर्ने तयारीमा लागेको छ । अहिलेको रेलमा यात्रुको संख्या बढ्दै गएपछि थप अर्को रेल खरिद गर्ने तयारी गरिरहेको हो । सञ्चालनमा आइरहेको रेलले सेवा धान्न नसकेको भन्दै अर्को रेल खरिदको प्रक्रियामा कम्पनी लागेको हो । नेपाल रेल्वे कम्पनीले यात्रु सहितकोे कार्गोरेल किन्नु पर्याे भन्दै भौतिक पूर्वाधार [&hellip;]</p>

काठमाडौं । नेपाल रेल्वे कम्पनी थप अर्को रेल खरिद गर्ने तयारीमा लागेको छ । अहिलेको रेलमा यात्रुको संख्या बढ्दै गएपछि थप अर्को रेल खरिद गर्ने तयारी गरिरहेको हो । सञ्चालनमा आइरहेको रेलले सेवा धान्न नसकेको भन्दै अर्को रेल खरिदको प्रक्रियामा कम्पनी लागेको हो ।

नेपाल रेल्वे कम्पनीले यात्रु सहितकोे कार्गोरेल किन्नु पर्याे भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रस्ताव पठाएको छ । कम्पनीले लिखित रूपमा नै मन्त्रालयलाई पत्र पठाउँदै अर्को रेलका लागि प्रस्ताव गरेको हो नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले बताए । जयनगर–कुर्था रेल्वे खण्डमा यात्रुसहितको सञ्चालनमा आइरहेको रेलले सेवा दिन नसकेपछि अर्को रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । हालको रेलले दिनमा दुई पटक ओहोर दोहोर गर्छ ।

प्रबन्ध सञ्चालक झाका अनुसार एकैपटक दुइटै रेल सञ्चालन गर्नको लागि अर्को रेलको आवश्यकता परेको हो । एउटा रेल खरिद नगरेसम्म प्रभावकारी रुपमा सेवा दिन नसकिने उनको भनाइ छ ।

‘अर्को रेल खरिदका लागि मन्त्रालयमा लिखित रूपमा प्रस्ताव गरेको छु, सञ्चालनमा आइरहेको रेल सानो भयो, सबै यात्रुलाई सेवा दिन समस्या भयो, अहिले यात्रुको भीड लाग्ने गरेको छ, यात्रुको संख्या दिनहुँ बढ्दो छ,’ उनले विकासन्युजसँग भने ।
प्रमुख झाका अनुसार अहिले रेल नाफामा चलिरहेको छ । दिनको दुइ पटक सञ्चालन गरेपनि प्रतिदिन २ लाख रुपैयाँ टिकटबाटै आम्दानी हुने उनको भनाइ छ । अर्को रेल खरिद गरेर दिनमा तिन पटकसम्म सेवा दिन सकियो भने नेपाल रेल्वे कम्पनी अझै फाइदामा जाने उनको धारणा छ ।

रेल सानो भएका कारण यात्रुले सहज रूपमा सेवा नपाएको पनि झाले बताए । उनका अनुसार रेल प्याक भएर धेरै प्यासेन्जर रेल चढ्नै पाएका छैनन् । जयनगर–कुर्था रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको ६ महिना पुरा भइसकेको छ ।
‘नेपाल रेल्वे कम्पनीले रेल आफैलेखरिद गर्न सक्दैन, अर्को रेल नेपाल सरकारले नै किन्नु पर्ने हुन्छ, किनेर ल्याएको रेल कम्पनीले सञ्चालन गर्न सक्छ,’ उनले भने ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता चुडा राज ढकालले अर्को रेल खरिद गर्नको लागि मन्त्रालय पनि सकारात्मक नै भएको बताए । उनले घाटा नहुने गरी अर्को रेल पनि सञ्चालन गर्यौै भने यात्रुलाई पनि सहज सेवा हुने बताउँदै उनले मन्त्रालय रेल खरिद गर्न सकारात्मक भएको धारणा राखे ।

‘अहिले हामी रेलको प्रारम्भिक अवस्थामा छौं, डिजेल रेल ल्याउन गाह्रो छ, विद्युतीय रेल ल्याउन समय लाग्छ, अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उलने भने । रेल खरिद नै गरिहाल्ने विषयमा भने कुरा नभएको उनको भनाइ छ ।

मासिक ६० लाख बढी आम्दानी

नेपाल रेल्वे कम्पनीले मासिक ६१ लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी गर्दै आएको छ । झाका अनुसार दैनिक २ लाख रुपैयाँ बराबरको आम्दानी हुन्छ । कम्पनीले केही समय अगाडि मात्र ३ महिनाको दैनिक आम्दानीको तथ्याङक निकालेको थियो ।

तीन महिनाको तथ्यांक हेर्दा दैनिक २ लाख ५ रुपैयाँ बराबरको आम्दानी हुँदै आएको झाले बताए । उनका अनुसार नेपाली म्यानपावर र फिल्डमा लाग्ने खर्च कम्पनीले नै धान सक्ने भएको छ । पछिल्लो समय रेलमा यात्रा गर्ने यात्रुको संख्या बढेसँगे आम्दानी पनि बढेको कम्पनीको भनाइ छ ।

विजलपुरासम्म रेल सेवा

जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा नेपाल रेल्वे कम्पनी लागेको छ । कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरेपछि मात्र रेल सेवा सञ्चालनमा आउँने झाले बताए । भारतीय इर्कन कम्पनी सो ठाउँसम्म पुग्ने ट्«याक निर्माणको काम गर्दै आएको छ ।

‘इर्कन कम्पनीले एक महिना भित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्छौं भनेको थियो, पावर सप्लाई जडान गर्नको लागि नेपाल विद्युत प्राधिकरणलाई रकम दिए पनि पावर सप्लाई जडान नगरेको कारणले पनि निर्माणमा ढिलाइ भयो,’ उनले भने । कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनका लागि लिक (पटरी) हल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ ।

झाका अनुसार इर्कन कम्पनीले ट्«याक निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको १५ दिनपछि विजलपुरासम्म रेल सेवा सञ्चालन हुनेछ । उक्त कम्पनीले कहिले ट्«याक हस्तान्तरण गर्छ भन्ने कुराको यकिन छैन । प्रसारण लाइन तथा ट्«याक फिटिङ गर्न बाँकी छ ।
इर्कन कम्पनीले करिब तीन करोड लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको छ । सो मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिबाससम्म १८ किलोमिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने झाको भनाइ छ ।

कार्गो रेल तत्काल सञ्चालन नहुने

जयनगर–कुर्था रेल्वे खण्डमा कार्गो रेल सञ्चालन गर्ने रेल्वे कम्पनी र केही जिल्लाका उद्योग वाणिज्य संघ बीच छलफल भएको थियो । छलफलमा व्यवसायीहरुबिच आयात गर्ने सामान उक्त ट्«याकबाट ल्याउँदा मात्र कार्गो रेल सञ्चालन हुने विषय उठाएको झाले बताए । तर, व्यापारीहरुले आयात गर्ने सामान कम हुने भएकाले तत्काल कार्गो रेल सञ्चालन नगर्ने कम्पनीले बताएको छ ।

कार्गो रेल सञ्चालन भएपछि रेलले बोक्ने सामान नै कम हुनेछ । ‘हामी कार्गो रेल सञ्चालनको प्रयासमा छौं, तर मार्केटको आवश्यकता नै बढी देखिएन, व्यापारी व्यवसायीहरुले आयात गर्ने सामान यो ठाउँबाट मगाउँछौं भने पछि मात्र कार्गो रेल सञ्चालन गर्न मिल्छ,’ उनले भने ।

व्यापारीहरुले यति सामान आयात गर्न सक्छौं भनेर प्रतिवद्धता आएपछि मात्र कार्गो रेल सञ्चालन हुने उनको भनाइ छ । कार्गो रेल सञ्चालनका लागि भारतीय कम्पनी पनि सकारात्मक रहेको झाले बताए ।

Share News