काठमाडौं । वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति (नन बैंकिङ एसेट) बढेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै गैर बैंकिङ सम्पत्ति बढेको देखाएको हो ।
अघिल्लो आर्थिक वर्षमा बैंकहरुको गैर बैंकिङ सम्पत्ति १३.२१ प्रतिशतले बढेको हो । सरकारी स्वामित्वमा रहेका बैंकहरुको गैर बैंकिङ सम्पत्ति भने १४.२३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
वाणिज्य बैंकहरुसँग कुल ६ अर्ब ७७ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ । नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रका वाणिज्य बैंकहरुसँग ६ अर्ब ३२ करोड ९० लाखरुपैयाँको नन बैंकिङ एसेट छ भने सरकारको स्वामित्व रहेको बैंकहरुको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ ।
यस्तै, आर्थिक वर्ष ७६/७७ मा ५ अर्ब ५४ करोड ९० लाख रुपैयाँ र सरकारी स्वामित्वको बैंकहरुको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट थियो ।