काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र लयमा ल्याउनका लागि मौद्रिक नीतिले सकेसम्मको प्रयास गर्ने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघको नव निर्वाचित कार्यसमितिको सपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा दबाब देखिएकोले यसलाई सुधार गर्नका लागि आगामी मौद्रिक नीतिले हरसम्मत प्रयास गर्ने बताएका हुन्।
‘अहिले बाह्य क्षेत्रमा एक किसिमको दबाब सिर्जना भएको छ, यो दबाबलाई धेरै टिक्न नदिनु हामी सबैको जिम्मेवारी हो, राष्ट्र बैंकले पनि आफ्नो ठाउँबाट हुन सक्ने काम गरिरहेकाे छ, आगामी मौद्रिक नीतिले पनि सो विषयलाई महतवपूर्णका साथ हेरेको छ,’ उनले भने ।
अर्थतन्त्रलाई सहज बनाउनका लागि सबैले सहकार्य गर्नु पर्ने उनको भनाइ छ । उनका अनुसार रुस-युक्रेन युद्द नै अहिले बाह्य क्षेत्रमा परेकाे दबाबकाे कारण हाे ।
उनले अहिले अर्थतन्त्रमा देखिएको समस्या वाह्य कारणले भएको बताउँदै त्यसको न्यूनीकरणका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् हुन सक्ने नीतिगत व्यवस्थाहरु परिवर्तन गरेर अगाडि बढ्ने बताए ।
यस्तै, उनले बजेटले लिएको लक्ष्य पुरा गर्नका लागि राष्ट्र बैंकले पनि सोही अनुरुपको नीति ल्याउने धारणा राखे । उनले वर्तमान अर्थतन्त्रमा देखिएको दबाब कम गर्नैका लागि हरेक विषयहरु मूल्यांकन गरेर काम भइरहेको पनि बताएका छन् ।
उनले मुद्रास्फीति नियन्त्रणका लागि पनि राष्ट्र बैंकले काम गरिहेको धारणा राखे । गभर्नर अधिकारीले चार्टर्ड एकाउण्टेण्टको संख्या बढ्दै जानु देशको लागि महत्त्वपूर्ण तथा अर्थपूर्ण विषय भएको पनि बताएका छन्।
उनले देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड अकाउण्टेण्टको सुझावले छुट्टै महत्व राख्ने बताए ।
हामी विभिन्न पक्षसँग सल्लाह सुझाव लिइरहेका हुन्छौँ, त्यसमा पनि चार्टर्ड एकाउण्टेण्टकाको सुझाव व्यवहारिक हुन्छ, नीति बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ, तपाईहरु कार्यक्रम बनाउनुहोस्, हाम्रो साथ तपाईँहरूलाई सधै रहने छ,’ उनले भने ।