तरलता संकटको बेलामा ५० अर्बको ऋणपत्र, व्याज ११ प्रतिशतसम्म

<p>काठमाडौं । असार मसान्तसम्म चुक्ता पुुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने नियामकीय व्यवस्थासँगै अहिले अधिकांश बैंकहरुले ऋणपत्र जारी गरिरहेका छन् । बजारमा तरलता संकट उत्कर्षमा रहेकाे बेलामा केन्द्रीय बैंक र वाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ भन्दा बढीकाे ऋण पत्र जारी गर्ने भएका हुन् । केहीको ऋणपत्र आवेदन खुला भईसकेको छ भने केहीले तत्काल निष्काशनको सूचना जारी [&hellip;]</p>

काठमाडौं । असार मसान्तसम्म चुक्ता पुुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने नियामकीय व्यवस्थासँगै अहिले अधिकांश बैंकहरुले ऋणपत्र जारी गरिरहेका छन् । बजारमा तरलता संकट उत्कर्षमा रहेकाे बेलामा केन्द्रीय बैंक र वाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ भन्दा बढीकाे ऋण पत्र जारी गर्ने भएका हुन् । केहीको ऋणपत्र आवेदन खुला भईसकेको छ भने केहीले तत्काल निष्काशनको सूचना जारी गर्ने तयारीमा छन् ।

प्राइम कमर्शिसल बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेच्चर निष्काशन खुला गरेको छ । ५ वर्ष अविधिको यो डिबेच्चरमा वार्षिक १०.१५ व्याज तोकिएको छ । २०८४ सालमा यसको अबधि सकिन्छ । जेठ २९ गतेबाट आवेदन खुला भएको यो डिबेन्चर छिटोमा असार ३ गते बन्द गरिने घोषणा निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले गरेको थियो । ३ गतेभित्र पुरा आवेदन नभएपछि असार १४ गतेसम्मको लागि समय थप गरिएको छ ।

सिद्धार्थ बैंकले पनि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । १० वर्ष अवधिको यो ऋणपत्रमा १०.७५ प्रतिशत व्याजदर तोकिएको छ । यो ऋणपत्र २०८९ मा समाप्त हुन्छ । असार ३ गतेबाट आवेदन खुला भएको यो ऋणपत्र छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेपछि आवेदन बन्न गरिने जनाएको छ ।

सानिमा बैंकले पनि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । १०.२५ प्रतिशत व्याज तोकिएको यो ऋणपत्र १० वर्ष अवधिको छ । यसको आवेदन असार १० गते  गतेबाट खुला भएकाे छ भने छिटोमा असार १४ गते आवेदन बन्द हुन्छ भने ढिलोमा असार २४ गते बन्द हुने निष्काशन तथा बिक्री प्रबन्धक आरबीवी मर्चेन्ट बैंकिङले जनाएको छ ।

सिभिल बैंकले पनि ११ प्रतिशत व्याज तोकेर ५ वर्षकाे लागि ऋणपत्र निष्काशनको तयारी थालेको छ । बैंक अफ काठमाण्डूले ११ प्रतिशत व्याज तोकेर १ अर्ब १० करोडको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १० वर्ष अवधिको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको छ । उसले बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हिमालयन बैंकले दुई अर्ब पचास करोड बारबारको ऋणपत्र जारी गर्ने भएको छ । यसको लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत हुनेछ ।

कुमारी बैंकले १० वर्षे अवधिको वार्षिक ११ प्रतिशत व्याजदरमा तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै छ । बैंकले ‘केबिएल डिबेन्चर २०८९’ ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९’ जारी गर्ने भएको छ । १० वर्ष अधिको ऋणपत्रको व्याज १०.५ प्रतिशत तोकिएको छ ।

त्यस्तै, नेपाल बैंकले पनि दुई अर्ब ५० करोड बराबरको ऋणपत्र जारी गर्ने भएको छ । ५ वर्ष अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर १०.५० प्रतिशत रहेको छ । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई ऋणपत्र जारी गर्ने बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले असार ६ गते एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो । बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिन्छ ।

यसअघि राष्ट्र बैंकले ११ प्रतिशत व्याजदर रहेको ३ अर्ब भन्दा बढीको नागरिक वचतपत्र जारी गरिसकेको छ । त्यसमा प्रयाप्त निवेदन नपरेपछि राष्ट्र बैंकले समय थपेर असार १४ गतेसम्म आवदेन दिन सकिने जनाएको छ ।

३५ अर्बको विकास ऋणपत्र सूचीकृत

गत साता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा कूल ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । असार १० गते मात्रै नेपाल सरकारका विभिन्न तीन प्रकारका विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् ।

जसमा २०८१ ‘ङ’ विकास ऋणपत्रको १० अर्ब रुपैयाँ, २०८१ ‘च’ को १० अर्ब र २०८३ ‘छ’ को १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत छन् । क्रमशः २, २ र ४ वर्षे अवधि रहेका यी ऋणपत्रको व्याजदर क्रमशः ९.१४ प्रतिशत, ९.१३ प्रतिशत र ९.२० प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंकहरुले चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने नियामकीय व्यवस्था भएसँगै अहिले बैंकहरुले धमाधम ऋणपत्र जारी गरिरहेकाे बताए ।

यद्यपि अहिले अधिकांश बैंकहरूले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गरिसकेका छन् । तर, स्रोत साधनको दायरा सुनिश्चितता गर्नको लागि बैंकहरुले ऋणपत्र जारी गरिरहेको उनको भनाइ छ ।

‘ऋणपत्रले संस्थाको स्रोत साधनको सुनिश्चितता गर्छ, यसले ब्याजदर स्थीर गर्न पनि सहयोग पुग्छ, त्यसैले बैंकहरुले ऋणपत्र जारी गरिरहेका छन्,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति मार्फत् बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने व्यवस्थालाई दुई वर्ष थप गरेको थियो । बैंकहरुले २०७९ असार मसान्तसम्म चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्नेछ ।

Share News