काठमाडौं । नबिल बैंकका मुख्य मालिक विनोद चौधरीले नेपाल बंगलादेश बैंकसँगको मर्जर भाँडिन सक्ने र अनिल केशरी शाह नबिल बैंकको सीईओमा पुनः फर्कन सक्ने बताएका छन् । ४ वर्षे कार्यकाल पूरा गरेका शाहको बिधाईसहित नबिल बैंकका सञ्चालक र उच्च तहका कर्मचारीलाई दिएको रात्री भोजमा चौधरीले उक्त भनाई राखेको एक सहभागीले बताए ।
नबिलमा विलय हुँदै गरेको नेपाल बंगलादेश बैंकका सबै कर्मचारीलाई एक पद घटुवा गरेर नबिल बैंकमा समाहित गर्ने दुई बैंकका मर्जर कमिटी तथा सञ्चालकहरुबीचको सहमति भएको छ । उक्त सहमतिप्रति नेपाल बंगलादेश बैंकका करिब ९७० जना कर्मचारीले आपत्ति जनाउँदै आएका छन् ।
मर्जको क्रममा आफूहरुमाथि अन्याय हुन लागेको भन्दै त्यस्तो विभेद वा अन्याय हुन नदिन एनबी बैंकका कर्मचारीको तर्फबाट एक दर्जन भन्दा बढी पत्र नेपाल राष्ट्र बैंकमा पुगेको छ । राष्ट्र बैंकले दिएको लाइसेन्स एउटै भएको, काम एउटै भएको, दुबै वाणिज्य बैंकको सञ्चालन विधि तथा कानुन एउटै भएको, दुई बैंकका कर्मचारीमा रहेको सेवा सुविधा पनि उस्तै भएको जनाउँदै मर्जको क्रममा विभेद नगर्न उनीहरुले राष्ट्र बैंकसँग याचना गरेका छन् ।
दुई वाणिज्य बैंकबीच मर्ज हुँदा पुँजीको स्वाप रेसियो घटीबढी भए पनि कर्मचारी समायोजनमा भेदभाव भएको उदाहरण नभएको एनबी बैंकका कर्मचारी तर्क छ । उनीहरुले कर्मचारीको पदीय मर्यादा र खाइपाई आएको सुविधा खोसिने गरि मर्जको स्वीकृति नदिन राष्ट्र बैंकलाई दवाव दिएका छन् ।
दुई बैंकबीच मर्जरको धेरै प्रक्रिया सकिएर अन्तिम स्वीकृतिको लागि फाइल नेपाल राष्ट्र बैंकमा पुगेको छ । राष्ट्र बैंकले विभिन्न विषयमा चासो राख्दै पत्राचार गरेको र त्यसमध्ये मुख्य विषय नेपाल बंगलादेश बैंकका कर्मचारीको पद घटुवा सम्बन्धी रहेको एक बैंकर्सले बताए ।
मर्जको क्रममा कर्मचारीमाथि गरेको विभेदलाई स्वीकार नगर्न राष्ट्र बैंकको उच्च नेतृत्व र अर्थमन्त्रालयसम्म पनि दवाव परेको छ । अर्थसचिव मधुकुमार मरासिनीले पनि विभेदलाई स्वीकार गर्न नहुने अडान लिएका छन् । मरासिनी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पनि छन् ।
स्रोतका अनुसार विगतमा उच्च पदमा पुगेको पदाधिकारीले आफ्नो छोराछोरी तथा आफन्तलाई नेपाल बंगलादेश बैंकमा जागिर खुवाएका थिए ।
नबिलमा मर्ज हुँदा ती कर्मचारीको पद घट्ने भएपछि वर्तमान तथा पूर्व उच्च पदस्त अधिकारीहरुले राष्ट्र बैंक र अर्थमन्त्रालयलाई ‘अन्यायपूर्ण मर्ज’ मा स्वीकृति नगर्न दवाव दिएको बताइएको छ । त्यसमध्ये एक जना पूर्व मुख्य सचिव डा. विमल कोइराला पनि रहेको बताइएको छ । उनको एक जना परिवार सदस्य नेपाल बंगलादेश बैंकमा कार्यरत रहेको बताइएको छ । कोइराला र मरासिनीबीच पुरानो सम्बन्ध भएको र कोइरालाको आग्रहलाई मरासिनीले नकार्न नसकेकोले पनि यो विषय पेचिलो बन्दै गएको स्रोतले बतायो । राष्ट्र बैंकले एनबी बैंकका खासखास कर्मचारीको नाम नै लिएर उनीहरुको घटुवा हुनु नहुने विषय उठाएकोमा नेपाल बंगलादेश बैंकका एक सञ्चालकले पनि असन्तुष्टि जनाए ।
राष्ट्र बैंकले नबिल र एनबी दुबै बैंकलाई कर्मचारीको मनोबल गिराउने, पदीय हैसियत गुमाउने, खाइपाई आएको सुविधा खोसिने गरी निर्णय नगर्न पत्र लेखेपछि विनोध चौधरीले मर्ज भाँडिन सक्ने धम्की दिएका हुन् । उनले मर्ज भाडिन सक्ने कुरा मात्र गरेनन्, नबिलको सीईओमा अनिल शाह फर्कन सक्ने पनि बताएको विषय निकै पेचिलो बनेको छ ।
मर्जमा जाने निर्णय गर्न भएको दुबै बैंकको साधारणसभाबाट मर्जपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको थियो । चौधरीको पछिल्लो भनाईले उक्त निर्णय कार्यान्वयन हुनेमा समेत शंका व्यक्त गर्न थालिएको छ । चौधरीले आफ्नो इच्छाअनुसार काम गर्न/गराउने कुनै पनि कसरत बाँकी नराख्ने भएकोले यस प्रकरणमा पनि चौधरीले नै जित्ने जानकारहरु बताउँछन् ।