काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा कडाइ गरे पनि आयात भने घट्न सकेको छैन । राष्ट्र बैंकले दुई पटक सूचना जारी गरेर विभिन्न वस्तुको आयातमा कडाइ र उद्योग मन्त्रालयले विभिन्न दश वस्तुको सूचि राजपत्रमा प्रकाशन गरेर प्रतिबन्ध नै लगाए पनि अझै आयातमा कमी आउन नसकेको हो ।
मंगलबार भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकका अनुसार आयात गत आवको तुलनामा २७.५ प्रतिशतले बृद्धि भएको हो ।
चालु आवको ११ महिनाको अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात गरेको थियो ।
आयातसँगै राजश्वमा पनि बृद्धि भएको छ । विभागको तथ्यांक अनुसार गत वैशाख महिनामा राजश्व संकलनमा कमी आएकोमा जेठ महिनामा राजश्व संकलन बृद्धि भएको हो । गत बैशाखसम्म ३४ अर्ब ३५ करोड ८ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन भएकोमा जेठ महिनामा ४१ अर्ब १८ करोड ५३ लाख ६३ हजार रुपैयाँ संकलन भएको छ । एक महिनामा राजश्व संकलन १९.८२ प्रतिशतले बढेकाे छ ।
गत बैशाख महिनाको तुलनामा जेठ महिनामा मात्रै ६ अर्ब ८३ करोड ४५ लाख १९ हजार रुपैयाँ संकलन भएको हो । फागुन महिनामा मात्रै ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएकोमा चैत महिनामा ३८ अर्ब २४ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।
यस्तै, गत महिनाको तुलनामा चैत महिनामा १ अर्ब ८ करोड ४१ लाख २१ हजार रुपैयाँले राजश्व संकलनमा कमी आएको हो । गत माघ महिनामा ३६ अर्ब ७ करोड र गत पुस महिनामा ४० अर्ब २७ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।
यसैगरी नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा बृद्धि भएको हो ।
यस्तै, भन्सार विभागका अनुसार निर्यात पनि हाल सम्मकै उच्च देखिएको छ । ११ महिनाको तथ्यांक अनुसार कुल ११ महिनामा एक खर्ब ८५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन हालसम्मकै उच्च हो । अघिल्लो आवको सोही अवधिको तुलनामा निर्यात ५३.३ प्रतिशतले बढी हो ।