छुट नपाइने भएपछि मर्जरमा जान हतारिए बैंक, कुन-कुनबीच हुँदैछ सम्झौता ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई असारपछि मर्जरमा पाइने छुट तथा सुविधा कटौति गर्ने बताएपछि बैंकहरुलाई मर्जरमा जान हतारो भएको छ । विगतमा लामो समयसम्म छलफल तथा वहस भएर पनि बैंकहरुबीच नटुङ्गिने मर्जर तथा एक्विजिसन अहिले भने हतार-हतारमा मर्जर सम्झौता भइरहेको छ । गत बिहीबार वाणिज्य बैंकहरुका संचालक समिति अध्यक्ष तथा लेखा समितिका सदस्यहरुलाई बोलाएर [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई असारपछि मर्जरमा पाइने छुट तथा सुविधा कटौति गर्ने बताएपछि बैंकहरुलाई मर्जरमा जान हतारो भएको छ । विगतमा लामो समयसम्म छलफल तथा वहस भएर पनि बैंकहरुबीच नटुङ्गिने मर्जर तथा एक्विजिसन अहिले भने हतार-हतारमा मर्जर सम्झौता भइरहेको छ ।

गत बिहीबार वाणिज्य बैंकहरुका संचालक समिति अध्यक्ष तथा लेखा समितिका सदस्यहरुलाई बोलाएर गभर्नर महाप्रसाद अधिकारीले असारपछि मर्जर तथा एक्विजिसनमा पाइने छुट तथा सुविधा कटौति गर्ने बताएका थिए । मर्जर तथा एक्विजिसनको लागि लामो समयदेखि सुविधा दिइँदै आएको र ठूला बैंक तथा वित्तीय संस्थाहरु एकापसमा मर्जरमा जान तयार नभइरहेको अवस्थामा उनले बैंकहरुलाई मर्जरमा जान बाध्य पार्नकै लागि सो सुविधा कटौति गर्ने बताएका थिए ।

असारपछि छुट तथा सुविधा नपाइने भएपछि अहिले अधिकांश वाणिज्य बैंकहरुबीच मर्जर तथा एक्विजिसनको कुरा चलिरहेको छ । एक महिनाको अवधिमा ६ वटा बैंकले मर्जर सम्झौता गरिसेकका छन् ।

नबिल र नेपाल बैंगलादेश बैंक असारभित्रै एकीकृत कारोबार गर्ने तयारीमा छन् । गत जेठमा नबिल बैंक र नेपाल बंगलादेश बैंकको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी दिएको थियो । नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा प्राप्ति गरेको हो । यससँगै पछिल्लो समय नबिल बैंकले पुनः एनसीसी बैंकलाई प्राप्तिको लागि प्रयास गरेको बुझिएको छ ।

लामो समयदेखि नबिलले एनसीसी बैंकलाई प्राप्ति गर्ने छलफल चले पनि सार्थकता पाउन सकेको थिएन । त्यो बिचमा नबिल र एनबी बैंकको सम्झौता भयो । नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने पक्का भएपछि पुनः एनसीसी बैंकलाई प्राप्तिको लागि प्रयास गरिहरेको स्रोतको भनाइ छ ।

यस्तै, जेठ २७ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच पनि मर्जर भइसकेको छ । राष्ट्र बैंकले असारपछि मर्जरको सुुविधा नपाइने भनेपछि नै नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच हतार-हतारमा मर्जर सम्झौता भएको हो । दुई बैंकबीच १००ः९० स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । यसअघि नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौता साधारणसभाले भाँडेको थियो ।

आज (असार २ गते बिहीबार) मात्रै ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच पनि मर्जर सम्झौता भएको छ । मर्जर सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको बताइएको छ ।

कुन-कुन बैंक जाँदैछन् मर्जरमा ?

अहिले अधिकांश बैंकहरु मर्जरको लागि पाटर्नर खोजिरहेका छन् । ठूला बैंकहरुले धमाधम मर्जर गर्न थालेपछि साना बैंकहरु पनि दवाव महशुस गर्दै मर्जरको तयारी गरिरहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेको हिमालयन बैंक अहिले अन्य बैंकसँग मर्जरका लागि छलफल गरिरहेको छ । स्रोतका अनुसार हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरको सम्झौता हुने सम्मको तयारी भइसकेको छ ।

यस्तै, प्रभु, माछापुच्छ्रे, सेञ्चुरी कमर्सियल, सनराइज बैंक, सिटिजन्स इन्टरेनेशनल, कुमारी, सद्धार्थ लगायत बैंकहरु अहिले मर्जरका लागि व्यापक छलफलमा छन् । यसअघि माछापुच्छ्रे र सेञ्चुरी बैंकबीच अलि गहन कुराकानी भएको थियो । तर छलफल भएको केही समयपछि सेञ्चुरीले माछापुच्छ्रेसँगको छलफल रोकेर प्रभु बैंकसँग छलफल चलाएको थियो ।

राम्रो प्रतिस्पर्धा देखियो : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरुबीच मर्जरको प्रतिस्पर्धा हुनु राम्रो संकेत भएको बताएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पछिल्लो समय बैंकहरुबीच मर्जर तथा एक्विजिसनको प्रक्रिया बढ्नु राम्रो भएको बताए । उनले यसले बैंकहरुबीच पनि स्वच्छ प्रतिस्पर्धा बढ्ने भन्दै राष्ट्र बैंकले भने कुनै दबाब नदिएको बताए ।

‘बैंकहरुबीच एकपछि अर्को मर्जर सम्झौता हुनु राम्रो विषय हो, यसले स्वच्छ प्रतिस्पर्धा पनि हुन्छ, मर्जरका लागि राष्ट्र बैंकले भने कुनै दबाब दिएको छैन,’ उनले विकासन्युजसँग भने ।

सम्बन्धित सामग्री : दर्जन बढी वाणिज्य बैंक मर्जरको गृहकार्यमा, बैंकर्स संघ भन्छः बाध्यता आइलाग्यो

Share News