काठमाडौं । सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै अन्य घटक पनि सोही बहसमा उत्रिएका छन् ।
सत्ता गठबन्धनको अर्काे दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो पार्टीभित्र पनि मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठेको बताएका हुन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन् । उनले नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको बताए । यद्यपि, एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने गरी गरेको निर्णय भने आन्तरिक विवादका कारण अझै कार्यान्वयनमा आउन सकेको छैन ।
‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन, समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ, कांग्रेसमा पनि दबाब छ, जसपामा दबाब छ, यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन, हाम्रो अझै छलफल सुरु भएको छैन, अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ,’ नेता पुनले भने ।
नेता पुनले मन्त्री फेर्ने कुरा गरेपछि उनको संकेत कुन नेतातर्फ केन्द्रीत छ भन्ने अड्कलबाजी पनि सुरु भएको छ । नेता पुन अहिले मन्त्री बनेका छैनन् । केही समयअघि उनी र वर्तमान अर्थमन्त्री जनार्दन शर्माबीच विवाद सार्वजनिक भएको थियो । पछिल्लो केही समययता पुन र शर्माबीच विवाद साम्य भए जस्तो देखिए पनि मन्त्री फेर्ने आवाज उठेको बताएर नेता पुनले पुन विवाद उठाउन खोजेको शर्मा निकट नेताहरु बताउँन थालेका छन् ।
अर्का नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउ छन् । अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पोखरेलको भनाइ छ ।
‘सरकारमा फेरबदल नै गर्नुपर्ने भएपनि, पहिलो त संयुक्त सरकार हो यो, संयन्त्र छ, आचारसंहिताहरु छन्, मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो ? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन, र अहिले पछिल्लो बेलामा शिर्ष नेताहरु बसिसकेर अहिले बाहिर सार्वजनिक पनि भइसकेको छ, त्यो नमिल्ने कुरा उहाँहरुले सच्याउनुभएको छ,’ नेता पोखरेलले भने ।