नयाँ शहर निर्माणको गति सुस्त, २० वर्षमा सकिनेमा शंका

<p>काठमाडौं । सुस्त गतिमा अघि बढेको पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने दश नयाँ शहर निर्माणको कामले अझै गति लिन सकेको छैन । सो योजना सुरु भएको ९ वर्ष पुराहुँदा पनि कामले तिव्रता पाउन नसकेको हो । सरकारले आर्थिक वर्ष २०६७/६८ मा नयाँ शहरको रूपमा विकास गर्ने भन्दै मध्यपहाडी लोकमार्गका विभिन्न स्थानहरूमा १० नयाँ शहर विकास गर्ने [&hellip;]</p>

काठमाडौं । सुस्त गतिमा अघि बढेको पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने दश नयाँ शहर निर्माणको कामले अझै गति लिन सकेको छैन । सो योजना सुरु भएको ९ वर्ष पुराहुँदा पनि कामले तिव्रता पाउन नसकेको हो ।

सरकारले आर्थिक वर्ष २०६७/६८ मा नयाँ शहरको रूपमा विकास गर्ने भन्दै मध्यपहाडी लोकमार्गका विभिन्न स्थानहरूमा १० नयाँ शहर विकास गर्ने घोषणा गरेको थियो । तर, पछि २ वटा नयाँ शहर थपी १२ वटा बनाइयो ।

पहाडबाट तराईमा बसाइसराइ बढ्दै गएपछि बसाइसराइ रोक्न सरकारले मध्यपहाडी लोकमार्गले छुने ठाउँमा नयाँ शहर बनाउने योजना अगाडि बढाएको हो । हाल नयाँ शहर विकासको काम सुस्त भएकोले बसाइसराइ पनि रोकिन सकेको छैन ।

आयोजना अनुसारको पर्याप्त बजेट विनियोजन हुन नसक्दा कामले गति लिन नसकेको शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने शहरी विकास तथा भवन निर्माण विभागको भनाई छ । विभागकी सूचना अधिकारी रमिता तचामोले बजेटको अभावमा कामको गति सुस्त भएको बताइन् । यद्यपि, अहिले पनि सो नयाँ शहरका पूर्वाधार विकासको काम भने भइरहेको छ ।

सरकारले उक्त आयोजनाको लागि छुट्ट्याइएको बजेट अनुसार भने काम भइरहेको विभागको दाबी छ । सो नयाँ शहरको काम सुरु भएको २० वर्षभित्र सक्ने सरकारको लक्ष्य छ । तर, सो समय भित्र सकिन्छ कि सकिँदैन भनेर यकिन गर्न नसकिने पनि सूचना अधिकारी तचामोले बताइन् ।

सूचना अधिकारी तचामोका अनुसार प्रत्येक शहरमा बसपार्क, मनोरञ्जन पार्क, तरकारी बजार, सडक, खानेपानी, खेलकुद मैदान, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्रलगायत पूर्वाधारको विकासका कामहरू भइरहेको छ ।

कहाँ–कहाँ बन्दैछन् नयाँ शहर ?

पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे–भन्सार, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको रकमा कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटनमा नयाँ शहर निर्माण हुँदैछ । यस्तै, प्यूठानको भिंग्री र सुर्खेतको भेरीगंगामा पनि नयाँ शहर बनाइदैछ ।

बजेट अभाव भए तापनि शहरी विकास मन्त्रालयले पहिलो प्राथमिकतामा दिएर सो काम अगाडि बढिरहेको सूचना अधिकारी तचामोले बताइन् ।

‘एउटा शहरको लागि अर्बौं रुपैयाँ रकम आवश्यक पर्छ, बजेट करोडमा आउँछ, त्यसैले पनि काम छिटो हुन नसकेको हो, बजेट अनुसारको उपलब्धि राम्रो नै छ,’ उनले भनिन् ।

उक्त शहर निर्माणको लागि आर्थिक वर्ष २०७७÷२०७७ सम्म २६ अर्ब ९५ करोड २१ हजार रुपैयाँ खर्च भएको छ । खर्च अनुसारको अपलब्धि सन्तोषजनक नै रहेको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको खर्चको विवरण आउँन बाँकी नै छ । योजनाबद्ध सहरीकरण गरी नयाँ शहरलाई केन्द्रको रूपमा विकास गर्ने, प्रत्येक नयाँ शहरमा एक लाख जनसंख्याका लागि पूर्वाधार बनाउने जस्ता लक्ष्य सरकारको छ । तर, पूर्वाधार विकासको काम हुनुभन्दा अरू ठाउँलाई पनि नयाँ शहर र स्मार्ट सिटीको रूपमा विकास गर्ने प्रचलन बढ्दै गएको छ ।

‘नयाँ शहर भन्ने बित्तिकै घर नै हामी सम्झन्न छौं, नयाँ शहरलाई चाहिले ढलदेखि लिएर पूर्वाधारको विकास भइरहेको छ, बजेट पर्याप्त भयो भने काम छिटो अगाडि बढ्थ्यो,’ उनले भनिन् ।

मध्यपहाडी अन्तर्गत पर्ने १० नयाँ शहरको लागि आयोजना सम्पन्न गर्नको लागि आगामी आर्थिक वर्षमा ३ अर्ब १० करोड रुपैयाँ विनियोजन भएको छ ।

नयाँ शहरमा एक/एक लाख मानिस बसोबास गराउन आवश्यक सम्पूर्ण सुविधा र पूर्वाधार विकास गरिनेछ । यसले शहर र तराईमा बसाइँसराइ कम गराउने विश्वास छ । चालु आर्थिक २०७८/८९ मा पुष्पलाल राजमार्ग र हुलाकी राजमार्गका २७ स्थानमा नयाँ शहरको विकास गर्न ३ अर्ब ३१ करोड रुपैयाँ विनियोजन भएको थियो ।

Share News