असारमा ब्याज नबढ्ने, सीडी रेसियो ९०% कायम गर्न चुनौति

<p>काठमाडौं । असारमा बैंकहरूको ब्याज नबढ्ने भएको छ । पछिल्लो समय बजारमा ब्याजदर बढ्ने हल्ला आइरहेको भएपनि बैंकहरूबीच भने ब्याज नबढाउने छलफल भइरहेको हो । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार धेरैले असारमा बैंकहरूको ब्याजदर बढ्ने आँकलन गरेपनि असारमा ब्याजदर बढाउने योजना नरहेको र बढाउन आवश्यक पनि नरहेको [&hellip;]</p>

काठमाडौं । असारमा बैंकहरूको ब्याज नबढ्ने भएको छ । पछिल्लो समय बजारमा ब्याजदर बढ्ने हल्ला आइरहेको भएपनि बैंकहरूबीच भने ब्याज नबढाउने छलफल भइरहेको हो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार धेरैले असारमा बैंकहरूको ब्याजदर बढ्ने आँकलन गरेपनि असारमा ब्याजदर बढाउने योजना नरहेको र बढाउन आवश्यक पनि नरहेको विभिन्न बैंकर्सको धारणा छ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले असारमा बैंकहरूकाे ब्याजदर बढ्न सक्ने सम्भावना नभएको बताए । उनले ब्याज बढाएर निक्षेप बढाउँछु भन्ने विषय तर्कसँगत नभएको बताए । उनका अनुसार बैंकहरूबीच ब्याजदर बढाउने विषयमाा छलफल भएको छैन ।

‘ब्याजदर बढाउने भनेको इकोनोमी मात्रै महँगो हुन्छ, यसअघि पनि ब्याज बढाएकै हो तर, निक्षेप आएन, प्रणालीमा आउने पैसा त बढाए पनि नबढाए पनि आइहाल्छ नै, असारमा पनि ११.०३ प्रतिशत ब्याजदर कायम नै हुने सम्भावना छ,’ उनले भने ।

यस्तै, उनले बैशाखको दुई सातामा केही सुधार भएको होकि भन्ने संकेत देखिए पनि तरलताको समस्या भने कायमै रहेको बताए ।

यस्तै, सिभिल बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुनिल पोखरेलले पनि असारमा बैंकहरूले ब्याज बढाउने सम्भावना न्यून रहेको बताए । उनले ब्याजदर बढाएर निक्षेप बढ्न सक्ने बैंकरूको रणनीतिले काम नगरेको पनि बताए ।

यसअघि बैंकहरूले निक्षेप तान्नकै लागि भनेर ब्याजदर बढाएका थिए तर, त्यो रणनीतिले काम गरेन भन्ने सबैले बुझिसकेका छन्, सकभर असारमा ब्याजदर बढ्दैन भन्ने हाम्रो अनुमान हो तर, बैंकहरूबीच भने निर्णय भइसकेको छैन,’ उनले भने ।

यस्तै, नेपाल बैंकर्स संघका सीईओ अनिल शर्मा पनि अहिलेको तथ्यांक केलाउँदा ब्याजदर बढाउनु पर्ने कारण नभएको बताउँछन् । उनले तथ्यांक केलाउँदा पनि असारमा ब्याजदर बढ्ने अवस्था नआउने बताउँछन् ।

‘हामीले तथ्यांक हेरेर दृष्टिकोण बनाउने हो, तथ्यांक नियाल्दा बैंकको ब्याजदर बढ्ने देखिँदैन, एक असारमा सरकारी खर्च बढेर प्रणालीमा पैसा आउला भन्ने आशा पनि बैंकहरुको छ,’ उनले भने ।

सीडी रेसियो कायम गर्न चुनौति

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई असार मसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्न निर्देशन दिइसकेको छ । सोही अनुरूप अहिले बैंकहरू सीडी रेसियो ९० प्रतिशतभित्र ल्याउने तयारीमा लागिरहेका छन् । तर, यो समयभित्र सो सीमा कायम गर्न बैंकहरुलाई चुनौति नै देखिएको छ ।

सीईओ शर्मा अहिलेको अवस्था हेर्दा बैंकहरुलाई सीडी रेसियो ९० प्रतिशतको सीमा कायम गर्न चुनौति नै भएको बताउँछन् ।

‘असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत कायम गर्न चुनौतिपूर्ण नै छ, भएको निक्षेप पनि बाहिरिरहेको छ, धेरै बैंकहरू ९० प्रतिशत माथि नै छन्, असारमा सरकारी खर्च बढ्यो भने केही सहज हुन्छ कि भन्ने अपेक्षा छ खर्च पनि भएन भने समस्या नै हुन्छ,’ उनले भने ।

उनका अनुसार बैंकहरुको औसत सीडी रेसियो ८९ प्रतिशत भयो भने केही सहज हुन्छ ।

यस्तै, सीईओ पोखरेलले पनि सीडी रेसियो ९० प्रतिशत कायम गर्न चुनौतिपूर्ण नै रहेको बताए । ‘अहिलेको अवस्था हेर्दा चुनौति नै देखिन्छ, अहिले ११७ अर्ब डिवेन्चरलाई निक्षेपका रुपमा गणना गरिएको छ, त्यसलाई पनि पुँजीमा गणना गर्यो भने झन सीडीमा चाप पर्ने देखिन्छ,’ उनले भने ।

Share News