काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीले ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुंगा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लाहरूलाई हस्तान्तरण गरिएको हो ।
सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख अजमद उल्ला, अमेरिकन रेडक्रसका नेपाल प्रमुख हरि कार्कीले संयुक्त रूपमा जिल्ला शाखा तथा उपशाखाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सहज र प्रभावकारी एम्बुलेन्स सेवा सञ्चालनका लागि सरकारले पहल गरिरहेको र सातै प्रदेश आपत्कालीन स्वास्थ्य कार्यालयमा रहेका डिस्प्याच सेन्टरको १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने गरी व्यवस्था मिलाउने कार्य यसै वर्षबाट सुरू भएको जानकारी दिए । १०२ मा फोन प्राप्त भएपछि बिरामीको नजिक रहेको एम्बुलेन्स जिपिएसबाट पत्ता लगाई छिटो सेवा दिने गरी व्यवस्था मिलाउन लागिएको पनि डा. अधिकारको भनाई थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपाल रेडक्रस सोसाइटीले ७० जिल्लामा दुई सयभन्दा बढी एम्बुलेन्स सञ्चालन गरी सेवा दिइरहेको बताए । देशैभर नेपाल रेडक्रसबाट सञ्चालन भएका ५ वर्ष यताका ‘ग’ वर्गका एम्बुलेन्सहरूलाई स्तरोन्नती गरी ‘ख’ वर्गको बनाउन लागिएको ढकालले बताए ।
एम्बुलेन्स सेवाका लागि नेपाल रेडक्रसको सहयोगमा गण्डकी प्रदेशमा स्थापना गरिएको डिस्प्याच सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।