काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि ९ जनाको नाम छनाेट भएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै ९ जनाकाे नाम सर्टलिष्टमा राखेकाे हाे ।
मन्त्रालयले रिक्त रहेको प्रबन्ध निर्देशकका लागि गत मंसिर २२ गते सूचना सार्वजनिक गरेको थियो । सूचना अनुसार आएका आवेदनमध्येबाट ९ जनाको नाम सार्वजनिक गरेकाे हाे ।
मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार गोरखा सिराञ्चोकका अर्जुृनबाबु ढकाल, काठमाडौंका अमलेन्दु नारायण सिंह, गन्यापधुरा डडेल्धुराका दीपक बहादुर शाही, काठमाडौंका नगेन्द्रकुमार दास, सिद्धार्थनगर रुपन्देहीका प्रदीपराज उपाध्याय, काठमाडौं टोखाका बुद्धिप्रसाद अचार्य, खैरेनिटार तनहुँका सुनिल पौडेल, महालक्ष्मी ललितपुरका सुरजसिंह थापा र काठमाडौंकी संगीता पहाडी अर्याल छनोट भएका हुन ।
छनोटमा परेकामध्ये संगीता पहाडी र सुरजसिंह थापा टेलिकमका कर्मचारीहरु हुन । यस्तै, आचार्य टेलिकमका पूर्व प्रबन्ध निर्देशक हुन भने दास र उपाध्याय पूर्व कर्मचारी हुन ।
यस्तैगरी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका सुनिल पौडेल, काठमाडौं उपत्यका खानेपानी संस्थानका पूर्व प्रमुख अर्जुनबाबु ढकाल र त्रिभुवन विश्वविद्यालयको सूचना प्रविधि तथा इनोभेसन सेन्टरका पूर्व प्रमुख दीपक बहादुर शाही रहेका छन् ।
टेलिकम गएको पुस २२ देखि नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीको कार्यकाल सकिन लाग्दै गर्दा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको भएतापनि अदालतमा रिट दायर भएसँगै रोकिएको थियो ।
टेलिकम प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन गर्दै सीमित व्यक्तिलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।
बुधबार सर्वोच्च अदालतले प्रबन्ध निर्देशक नियुक्तिको विषयमा परेको रिट खारेज गरेसँगै मन्त्रालयले नाम सार्वजनिक गरेको हो ।
छनोट भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा जानेछ । सिफारिसका आधारमा तीन जनामध्येबाट सरकारले एक जनालाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्नेछ ।