होटलको हब बन्दै म्याग्दी, ३० करोड बढीको लगानीमा तातोपानी र गलेश्वरमा ठूलो दुई होटल बने

<p>काठमाडाैं। म्याग्दीको तातोपानी र गलेश्वरमा स्तरीय होटेल निर्माण पछिल्लो समय म्याग्दीको पर्यटकीयस्थल भुरुङतातोपानी र मुक्तिनाथ प्रवेशद्वारका रुपमा मानिएको गलेश्वरमा करोडौँ रुपैयाँको लगानीमा पर्यटक लक्षित स्तरीय होटेल निर्माण हुन थालेको छ । उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङतातोपानीमा रु २५ करोडको लगानीमा धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो होटेल निर्माण भएको छ भने गलेश्वरमा रु सात करोडको लगानीमा होटेल [&hellip;]</p>

काठमाडाैं। म्याग्दीको तातोपानी र गलेश्वरमा स्तरीय होटेल निर्माण पछिल्लो समय म्याग्दीको पर्यटकीयस्थल भुरुङतातोपानी र मुक्तिनाथ प्रवेशद्वारका रुपमा मानिएको गलेश्वरमा करोडौँ रुपैयाँको लगानीमा पर्यटक लक्षित स्तरीय होटेल निर्माण हुन थालेको छ ।

उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङतातोपानीमा रु २५ करोडको लगानीमा धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो होटेल निर्माण भएको छ भने गलेश्वरमा रु सात करोडको लगानीमा होटेल ताजमहल सञ्चालनमा आएको छ ।

म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटेल नेचुरल स्प्रिङ प्रालि’ निर्माण गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउण्ड अन्नपूर्णको आकर्षक पर्यटकीय गन्तव्य स्थल हो ।

यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरेर तीन स्तरका सुविधासहितको कोठाहरुको व्यवस्था रहेका हमालले बताए । उनका अनुसार अहिले होटलको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ । करिब आठ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको छ ।

होटेल आगामी भदौदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । होटेलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्टसमेत सञ्चालनमा आउनेछन् ।

होटेल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिए । रु २२ करोड लागत अनुमान गरिएको भए पनि कोरोना महामारीका कारण निर्माण सामग्रीको अभाव, निर्माण कार्यमा भएको प्रभाव र सामान ढुवानीमा भएको असुविधाले लागत बढ्ने भएको उनले बताए ।

“क्षमताको हिसाबले धौलागिरि क्षेत्रकै ठूलो हुन्छ, सुविधामा समेत स्टार होटेलका सुविधा उपलब्ध गराउँछौँ, सुविधायुक्त होटेलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सघाउने अपेक्षा हामीले गरेका छौं”, उनले भने ।

पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एकमात्रै बेनी–जोमसोम–कोरला सडकमा होटेल सञ्चालनमा आएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्ब्याउन टेवा पु¥याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताए ।

तातोपानीमा अहिले ठूला सात र साना १५ गरि जम्मा २२ वटा होटेल सञ्चालनमा छन् । ती होटेलमा ४०० जनासम्म पर्यटकहरु बस्न सक्ने क्षमता छन् । अन्नपूर्ण राउन्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकखण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यस होटेलले पर्यटकलाई आरामदायी बसोबासको प्रबन्ध मिलाउन र पर्यटन प्रवद्र्धनमा सघाउने स्थानीयवासीको भनाइ छ ।

गलेश्वरमा ७ करोडको लगानीमा बन्यो होटल

आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्दै गएपछि मुस्ताङको प्रवेशद्वार मानिने पर्यटकीय जिल्ला म्याग्दीमा करोडौँको लगानीमा स्तरीय होटेल सञ्चालन हुने क्रम बढ्दै गएको छ । यसै क्रममा हालसालै म्याग्दीको गलेश्वरमा रु सात करोडको लगानीमा ‘ताज महल’ होटेल सञ्चालनमा आएकाे छ ।

२५ वर्षअघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टङ्कलाल श्रेष्ठले पर्यटक लक्षित सो स्तरीय होटेल सञ्चालनमा ल्याउने बताएका हुन् । बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटेल ताजमहल लज एन्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएको श्रेष्ठले बताए ।

चालिस वर्षीय श्रेष्ठले मिहिनेतको कमाई र सीपलाई होटेल क्षेत्रमा अघि बढाएका हुन् । गलेश्वरमा जग्गासहित करिब सात करोड लगानीमा १३ आना क्षेत्रफलमा पार्किङसहितको होटेल स्थापना गरेका छन् ।

सुविधा सम्पन्न होटेलमा सयजना पाहुनाहरु बस्न सक्छन्, सुविधाअनुसारको रु एक हजारदेखि तीन हजारसम्मको ३६ वटा कोठा छन् । चार कोठामा बाथटप, सबै कोठामा तातोपानी स्नान र इन्टरनेट सुविधासहितको पूर्वाधार रहेकोे होटेलमा मौलिक थकाली, इन्डियन, नेपाली खाजा र खानाको परिकारसहितको सेवाहरु रहेको सञ्चालक श्रेष्ठले बताए ।

विगतमा म्याग्दी मुस्ताङ आउने पर्यटकलाई होटेल सुविधा नहुँदा बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्थाको अन्त्यका लागि भएपनि कोभिड–१९ को उच्च जोखिमका बीच पनि ठूलो लगानीमा होटेल निर्माण गरेको उनको भनाइ छ ।

होटेलमा काम गर्दाको अनुभव र कमाई प्रयोग गरेर होटेल सुरु गरेको श्रेष्ठले बताए । पछिल्लो समय म्याग्दीमा स्तरीय होटेल निर्माणको क्रम बढ्दै गएपछि पर्यटकलाई निकै सुविधा पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण विगत दुई वर्षदेखि होटेल व्यवसाय फस्टाउन सकेको थिएन । अहिले भविष्यलाई लक्षित गरेर यहाँ स्तरीय होटेलहरु धमाधम निर्माण भइरहेका छन् । म्याग्दीमा होटेल र रेष्टुरेन्टमा मात्रै रु पाँच अर्बभन्दा बढी लगानी रहेको बताइएको छ । रासस

Share News