काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंक स्रोतका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा हुनेछ ।
राष्ट्र बैंकमा आज साँझ नै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई स्वीकृत गर्ने स्रोतको भनाई छ ।
‘आज साँझ ५/६ बजे तिर सञ्चालक समितिको बैठक बोलाइएको छ, सोही बैठकले मौद्रिक नीतिको समीक्षालाई स्वीकृत गर्नेछ, त्यस लगत्तै मौद्रिक नीतिको समीक्षा हुने सम्भावना बलियो छ, यसअघि पनि बैठक लगत्तै नै समीक्षा हुन्थ्यो,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
स्रोतका अनुसार अहिले राष्ट्र बैंकलाई मौद्रिक नीतिका उपकरणमा खेल्ने खासै ठाउँ छैन । ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा खासै ठूलो नीतिगत परिर्वतन हुँदैन, अहिले समस्या भनेको तरलताको नै हो, सो समस्या समाधान गर्नको लागि केही व्यवस्था होला,’ स्रोतले भन्यो ।
मौद्रिक नीतिको समीक्षाका लागि व्यवस्थापकीय र विभागीय छलफल भइसकेको छ । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले गत माघमा सरोकारवालाहरुसँग सुझाव संकलन तथा छलफल समेत गरेको थियो ।
छलफलमा सहभागी बैंकर, निजी क्षेत्रका प्रतिनिधिहरु र विज्ञहरुले बैंकिङ प्रणालीमा लामो समयदेखि देखिएको तरलता अभावको समस्या समाधान गर्ने नीति समीक्षामार्फत् आउनु पर्नेमा जोड दिएका थिए ।
केही दिन अगाडि मात्रै नेपाल उद्योग वाणिज्य महासंघले व्याजदर एकल अंकमा ल्याउनु पर्ने र सेयर धितोको कर्जामा लगाइएको सीमा हटाउनु पर्ने लगायतका माग राखेको थियो ।
राष्ट्र बैंकले तरलता सहजका लागि यसअघि नै सेयर धितोमा सीमा तोकेको थियो भने आयातित वस्तुमा पनि कडाई गरिसकेको छ । यसले पनि तरलतामा खासै सहज नभएको अवस्थामा राष्ट्र बैंक पुनः तरलताको समस्या समाधानका लागि उपाय खोजिरहेको छ ।
धेरैले अब राष्ट्र बैंकले घरजग्गामा जाने कर्जामा कडाई गर्न सक्ने धारणा राखिरहेका छन् । राष्ट्र बैंक स्रोत पनि यस विषयमा विभिन्न बैठकमा छलफल भएपनि मौद्रिक नीतिले भने के व्यवस्था गर्छ भन्न सकिने अवस्था नरहेको बताउँछ ।