काठमाडौं । वस्तुको मूल्य बृद्धिको तिव्र विरोध हुन थालेपछि उत्पादकहरुले नयाँ विकल्प प्रयोग गर्न थालेका छन् । मूल्य बढाउँदा नियामक निकायदेखि उपभोक्तासम्मको गुनासो आउने भएपछि मूल्य उही राखेर परिमाण घटाउँदै लाने रणनीतिमा उद्योगहरु देखिएका छन् ।
पछिल्लो समय अधिकांश उपभोग्य वस्तुको मूल्य बृद्धि भएको भन्दैै विरोध हुन थालेपछि व्यवसायीले परिमाण घटाएर पुरानै मूल्य कायम गर्न थालेको पाइएको हो ।
खुद्रा व्यवसायीहरु पछिल्लो समय अधिकांश बस्तुको साइज आधा घटेको बताउँछन् । मूल्य बढाएको भन्दै विरोध हुन थालेपछि उनीहरुले पुरानै मूल्य कायम गरी वस्तुको साइज घटाएका खुद्रा व्यापारी बताउँछन् ।
अहिले बजारमा उपलब्ध चकलेट, विस्कुट, प्याकिङमा आउने काजु, बदाम, पास्ता लगायतका वस्तुको परिमाण घटेको छ ।
नेपाल खुद्रा व्यवसायी संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्य वस्तुको मूल्य पुरानै राखेर परिमामाण मात्र घटाइएको बताउँछन् ।
‘अहिले अधिकांश उपभोक्ताको ध्यान वस्तुको साइजमा भन्दा पनि मूल्यमा छ, पुरानै मूल्यमा आफूले उपभोग गर्ने गरेको वस्तु पाएपछि त्यसको परिमाणमा खासै ध्यान नहुने रहेछ, उपभोक्ताको यही सेन्टिमेन्ट बुझेर उद्योगी तथा थोक व्यापारीले पुरानै मूल्यमा कम परिमाण बेच्न थालेका छन्,’ उनले भने ।
बज्राचार्यका अनुसार उपभोक्ताहरु कुनै वस्तुको मूल्य ५ रुपैयाँ बढेको भन्दै खुद्रा व्यवसायीसँग झगडा गर्छन् । तर, मूल्य आफूले पहिला कति मूल्यमा कति परिमाणको वस्तु किनेको थिएँ भन्नेमा खासै जानकारी राख्दैनन् ।
पछिल्लो समय बजारमा प्रायः सबै दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि भएको छ । पछिल्लो केही दिनको अवधिमा बजारमा खाने तेल, चिनी, दूग्धजन्य वस्तुदेखि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएको हो ।
खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार पछिल्लो समय खाने तेलको मूल्य लिटरमा ४० रुपैयाँसम्म बढेको छ । भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको छ ।
यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपैयाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपैयाँले बढेर ३७० रुपैयाँ पुगेको छ ।
मूल्यवृद्धि पछि प्रतिलिटर भटमासको तेलको मूल्य २४० रुपैयाँ, सूर्यमुखी तेलको मूल्य २६० र तोरीको तेल (भुटेको) को मूल्य ३४५ रुपैयाँ पुगेको छ ।
यस्तै, ३६५ रुपैयाँमा पाइने हर्लिक्सको मूल्य ३५ रुपैयाँले बढेर ४ सय रुपैयाँ, ६० रुपैयाँमा पाइने पाउरोटी ७० रुपैयाँ, २५० रुपैयाँमा पाइने विस्कुट ३ सय रुपैयाँ, ६ सय रुपैयाँमा पाइने डाबर हनी ६९० रुपैयाँ भएको छ । यसअघि खुद्रा बजारमा ९५ रुपैयाँमा पाइने चिनीको मूल्य १०० रुपैयाँभन्दा बढी भएको छ ।
फागुन १ गतेदेखि लागू हुनेगरी निजी डेरी उद्योगीले सम्पूर्ण डेरी प्रडक्टको मूल्य बढाएका छन् । दूध लिटरमा १० रुपैयाँदेखि १४ रुपैयाँ, ध्यूको मूल्य १ सय रुपैयाँसम्म बढेको छ ।
‘सरकारले नै मूल्य बढाउन सहयोग गर्याे’
सरकारी निकायको वेवास्ताकै कारण उखुको क्रसिङको सिजनमै नेपालमा चिनीको मूल्य बढेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढ्यो भन्दै तेल उद्योगीले अनावश्यक मूल्य बढाउँदा सरकार रमिते बनेको बताए ।
‘अहिले तेलको मूल्य प्याकेटमै १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म बढेको छ, उखुको क्रसिङ सिजन हो, यही समयमा प्रतिकिलो १० रुपैयाँसम्म चिनीको मूल्य बढेको छ, अहिले उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण वस्तुको मूल्य बढेको छ, बजार अनुगमन र नियन्त्रण गर्ने नियामक निकाय नै लामो समयदेखि नेतृत्वविहीन बन्दा समेत सरकारले ध्यान दिएको छैन, सरकार नै मूल्य बढाउने पक्षमा भएको जस्तो देखिन्छ,’ उनले भने ।
उनले बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नै बजार अनुगमनबाट पन्छिएको आरोप लगाए ।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन छ, विभागका कर्मचारीहरु अनुगमनका लागि पैसा नभएको भन्दै कार्यालयमै बसेका छन्, बजारमा बस्तुको मूल्य छोइसक्नु छैन, यी सबैको कारण सरकार नै हो’, तिमिल्सिनाले भने ।
सरकारी संस्थानले नै अनावश्यक रुपमा मूल्य बढाएको उनको आरोप छ ।
‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भारतबाट मूल्य बढेर आउँदा मूल्य बढाउने र घटेर आउँदा नघटाउने गरेको छ, १२÷१५ दिनमा निगमको तेलको मूल्य बढाउँदा कसैको ध्यान छैन, अख्तियार लगायतका क्षेत्रबाट दुधको गुणस्तर नभएको भन्दै निगरानी भइरहेको समयमा सरकारी संस्थाबाटै दूग्धको मूल्य बढेको छ, सरकारी निकायले नै यस्तो गरेपछि निजीले खेल्ने मौका पाए,’ उनले भने ।
तेलको मूल्य बढ्यो– विभाग
वाणिज्य विभागका निर्देशक हरि पंगेनी केही वस्तुको मूल्य बढेको स्वीकार गर्छन् ।
‘अहिले हामीकहाँ तेलको मूल्य बढेको भन्ने धेरै गुनासो आएको छ, गुनासो आएपछि हामीले तेल उद्योगसँग डाटा माग गरेका थियौँ, डाटा हेर्दा केहीले मूल्य बढाएको देखियो, हामीले गरेको अध्ययन अनुसार ३÷४ प्रतिशत तेलको मूल्य बढेको देखियो,’ पंगेनीले भने ।
अस्वभाविक मूल्य देखिएको उद्योगसँग थप विवरण माग गरेर विभागले अध्ययन गर्दै गरेको उनले बताए । उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेपछि अधिकांश व्यवसायीले मूल्य बढाउने गरेका छन् ।