नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अवकाश दिने निर्णय तत्काल नगर्न सर्वाेच्च अदातलले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको अवकाश टुंगो नलाग्दासम्म अवकाश नदिन अन्तरिम आदेश जारी गरेको हो । ५८ वर्षे उमेर हदका कारण गत पुस २५ गते अनिवार्य अवकाश पाएको भन्दै प्राधिकरणले क्षेत्रीलाई पत्र दिएको थियो । तर, नेपाल नागरिक उडड्यन प्राधिकरण ऐन २०५६ को दफा १९ अनुसार आफ्नो चार वर्षे कार्यकाल २०८२ कात्तिक ८ गतेसम्म रहेको तर्क गर्दै क्षेत्रीले पूरा कार्यालय काम गर्न पाउनुपर्ने माग राख्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।
उनले दायर गरेको रिटमा सर्वाेच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै मुद्धाको टुंगो नलाग्दासम्म अवकाश नदिने आदेश जारी गरेको हो । प्राधिकरणबाट क्षेत्रीलाई बिदाई गरेपछि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्यानको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ । उनले गत माघ २० गते कार्यभार सम्हालिसकेका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि क्यानमा दुई जना महानिर्देशक भएका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि क्यान जान लागेको महानिर्देशक क्षेत्रीसँग विकासन्युजले कुराकानी गरेको छ ।
सर्वाेच्चको आदेश आयो, प्राधिकरण जानुहुन्छ कि हुँदैन ?
सम्मानित सर्वाेच्च अदालतले मेरो पक्षमा आदेश दिएको छ । अदालतको आदेशपछि म आज प्राधिकरणमा हाजिर हुँदैछु । अहिले म बाटोमै छु ।
क्यानमा अर्को महानिर्देशक पनि हुनुहुन्छ, तपाईं गएर कुन कार्यकक्षको कुन कुर्सीमा बस्नु हुन्छ ?
ठिक छ, यो झगडा गर्ने विषय होइन । सर्वाेच्चको आदेश सबैले मान्नुपर्छ, म पनि आदेश मान्दै आज कार्यालयमा जादँैछु । म कार्यालयमा गएर सल्लाह गर्छु । सर्वाेच्चको आदेश सबैले मान्नुपर्छ, आदेश अनुसार सल्लाह गरेर त्यही अनुसार गर्ने हो ।
सर्वोच्चको हादेशबाट आउनु फर्किनु भएको छ । विभगीय मन्त्री र सरकारसँग ‘टसल’ लिएर काम गर्न सक्नुहोला र ?
म एकदमै राम्रोसँग काम गर्न सक्छु । मैले मेरो अधिकार अनुसार सर्वाेच्च गएको हुँ । अन्तरिम आदेशले फागनु ९ गते दुबै पक्षलाई बोलाएको छ । थप नयाँ निर्णय नहुँदासम्म म कार्यालय जान्छु । पछि थप आदेश जे आउँछ, त्यही कार्यान्वयन गर्नुको विकल्प छैन । आदेशमा तपाईं घर जानुस् भन्ने आयो भने सबै साथिहरुसँग सहर्ष रुपमा हात हल्लाएर बिदा हुन्छु ।
प्रदिप अधिकारीलाई महानिर्देशक मान्नुहुन्छ कि निर्देशकका रुपमा काम लगाउनुहुन्छ ?
म अहिले कार्यालय जाँदैछु । कार्यालय गएर हाजिर गर्छु, त्यहाँको माहोल हेर्छु । त्यसपछि अदालतको जे आदेश आउँछ त्यही अनुसार थप निर्णय हुन्छ । अहिलेनै यो भन्ने निष्कर्ष भैसकेको छैन ।