काठमाडौं । नेपाल वायु सेवा निगमले नयाँ जआज खरिद गर्ने भएको छ । मंगलबार निगममा आयोजित कार्यक्रममा निगमले नयाँ जहाज खरिद गर्ने निर्णय गर्ने बताएको हो ।
नयाँ जहाज खरिद गर्नको लागि निगमले सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले १५ अर्ब रुपैयाँ माग गरेको बताए ।
अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग गरेका हुन् ।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले खर्च सञ्चालन खर्च धान्न नसक्ने भन्दै २०७७ साउन १५ गतेबाट ग्राउन्डेड गरिएका ६ थान चिनियाँ जहाज अझै पनि सञ्चालन गर्न सकेको छैन ।
सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै ग्राउन्डेड गरिएको जहाजबाट निगमलाई थप आर्थिक भार बढ्दै गएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा राखिएको ६ थान चिनियाँ जहाजबाट निगमलाई करोडौं आर्थिक भारत परेको छ । विमानस्थलको पार्किङमा राखिएको शुल्क र बीमाबापत निगमलाई उक्त दायित्व थपिँदै गएको छ ।
निगमले चीनबाट ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज अनुदान तथा खरिद गरेर ल्याएको थियो ।
दुई अर्ब ९४ करोड अनुदान र ३ अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याइएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो ।
नयाँ जहाज खरिद गर्न तयारी अवस्थामा रहेको निगम वार्षिक करिब २ अर्ब नजिक घाटामा छ । हाल निगमको सञ्चित घाटा ५ अर्ब ५३ करोड रुपैयाँ छ । ऋणभारसँगै निगमको हालसम्मको सञ्चित घाटा १० अर्बको हाराहारीमा पुगेको बताइएको छ ।