१० दिने पर्यटन बिदा कार्यान्वयनमा ल्याउन होटल संघको माग

<p>काठमाडौं । होटल संघ नेपाल (हान) ले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन माग गरेको छ । संघले आफ्नो कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई आमन्त्रण गरी बधाई तथा शुभकामना ज्ञापन गर्दै हानले उक्त आग्रह गरेको हो। उक्त अवसरमा विषयवस्तुमाथि प्रकाश पार्दै संघकी अध्यक्ष सृजना राणाले [&hellip;]</p>

काठमाडौं । होटल संघ नेपाल (हान) ले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन माग गरेको छ । संघले आफ्नो कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई आमन्त्रण गरी बधाई तथा शुभकामना ज्ञापन गर्दै हानले उक्त आग्रह गरेको हो।

उक्त अवसरमा विषयवस्तुमाथि प्रकाश पार्दै संघकी अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरु अझै कार्यान्वयनमा आउन नसकेको हुँदा विशेष अभिभावकीय भूमिका निर्वाह गर्दै अन्य निकायहरुसँग पहलकदमी गरिदिनका लागि महानिर्देशकसँग आग्रह गरिन् ।

उक्त अवसरमा नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज विदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल हुनुपर्ने, वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएको हुँदा पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटलहरुलाई सान्दर्भिक नदेखिएकोले यो परिस्थितिमा यस प्रकारको नियम लागू नहुनका लागि पहलकदमीका लागि पनि अनुरोध गरिएको हानले जनाएको छ ।

पर्यटन उद्योगलाई सहज र सरल बनाई प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शूल्क, नवीकरण आदिको लागि झन्झटिलो प्रक्रिया रहेको हुँदा यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गरिन सके दिगो पर्यटनलाई टेवा मिल्ने हानको भनाइ छ ।

पर्यटन तथा होटल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानुन तथा निर्देशिकाहरु सरोकारवाला निकायहरुसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइदा फलदायी हुने, पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरु पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने, आधिकारिक सूचनाहरु पर्यटन विभागको वेबसाइटमा राखिनु पर्ने र तथ्यांकहरु आदान प्रदानमा सहज हुने हानले जनाएको छ ।

संघका कार्यसमिति सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गर्दै विभागसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

Share News