काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनपछि चितवनमा पर्यटकहरुको चहलपहल बढेको छ । होटल संघ चितवनका अनुसार एमालेको महाधिवेशनपछि प्रचारप्रसार बढेकोले पनि पर्यटकीय गतिविधिसँगै मानिसहरुको चहलपहल बढेको हो ।
होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले महाधिवेशनमा समग्र चितवन र चितवनका पर्यटकीय स्थलहरुको प्रचारप्रसार बढेकोले आन्तरिक पर्यटकहरु आउने क्रम बढेको बताए ।
उनले अहिले मात्रै नभई भविश्यका लागि पनि पर्यटक आवागमनका लागि महाधिवेशनले प्रचारप्रसार गर्नका लागि धेरै सहयोग गरेको बताए ।
उनका अनुसार एमालेको १०औं महाधिवेशनमै सौराहाका होटलहरुको १५ करोड रुपैयाँ कारोबार भएको छ । होटल संघ चितवनका अनुसार एमालेको महाधिवेशनको करिब एक साताको अवधिमा १५ करोड रुपैयाँ कारोबार भएको हो ।
कम्युनिष्ट पार्टी नेकपा एमाले महाधिवेशनको निकै तामझाम र हजारौं कार्यकर्ताहरु सहभागी गराउँदै १०औं महाधिवेशन मनाएको थियो ।
एमालेले चितवनको सौराहाका ३ सय होटलका ३५ सय कोठाहरु बुकिङ गरेको थियो । एमालेले चार दिनका लागि ३५ सय कोठाको अधिकतम ५ हजार रुपैयाँ तिरेको भट्टराईको भनाई छ ।
होटलको काठा भाडा मात्रै एमाले साढे दुई करोड रुपैयाँ बढी तिरेको उनको भनाई छ ।
‘एमालेको महाधिवेशन चितवनमा भएपछि हामीलाई धेरै सहयोग पुगेको छ, धेरै राहत पनि भएको छ, यसले आन्तरिक पर्यटक भित्र्याएर पनि आर्थिक गतिविधि बढाउन सकिन्छ भन्ने सन्देश पनि छ, अहिले पहिलेको भन्दा आन्तरिक पर्यटकहरु बढी नै आइरहेका छन्,’ उनले भने ।