११३ संस्थामा सरकारको सेयर लगानी: १५ वटाले लाभांश वितरण गर्दा ९८ को शून्य

<p>काठमाडौं । नेपाल सरकारले गत आर्थिक वर्षमा ३ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार सरकारले आर्थिक वर्ष २०७७/७६ मा कूल ११३ वटा संस्थामा सो मात्राको सेयर लगानी गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ६.३२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सरकारले [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारले गत आर्थिक वर्षमा ३ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार सरकारले आर्थिक वर्ष २०७७/७६ मा कूल ११३ वटा संस्थामा सो मात्राको सेयर लगानी गरेको हो ।

जुन अघिल्लो वर्षको तुलनामा ६.३२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सरकारले विभिन्न ११३ वटा संस्थामा २ खर्ब ९६ अर्ब ९२ करोड रुपैयाँ मात्रै सेयर लगानी गरेको थियो ।

महालेखापरीक्षकको ९८औं वार्षिक प्रतिवेदन २०७८ अनुसार सरकाले गत आवमा भने थप १२ अर्ब ७२ करोड रुपैयाँ र बोनस सेयर तथा समायोजनबाट थप ६ अर्ब ६ करोड रुपैयाँ गरी ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको सेयर लगानी गरेको हो ।

समीक्षा अवधिमा सरकारले विभिन्न १५ वटा कम्पनीबाट २३ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ नगद लाभांश पाएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल राष्ट्र बैंकबाट प्राप्त गरेको छ । तथ्याङ्क अनुसार बैंकले कूल ९ अर्ब ९६ लाख रुपैयाँ बराबरको नगद लाभांश उपलब्ध गराएको छ ।

त्यस्तै, टेलिकमले ६ अर्ब १७ करोड ७७ लाख रुपैयाँ, नेपाल आयल निगमले ४ अर्ब १७ करोड ४७ लाख, कृषि विकास बैंकले एक अर्ब ४२ करोड ९५ लाख रुपैयाँ र अन्य ११ संस्थाले २ अर्ब ६९ करोड २६ लाख रुपैयाँ नगद लाभांश प्रदान गरेका छन् ।

त्यसैगरी, नेपाल बैंकले ७५ लाख ६ हजार रुपैयाँ बराबरको बोनस सेयर उपलब्ध गराएको छ ।

यससँगै समीक्षा अवधिमा सरकारले १४.८५ प्रतिशत बढी लाभांश प्राप्त गरेको छ । यी बाहेक ९८ संस्थामा गरेको लगानी १ खर्ब ९३ अर्ब ७ करोड रुपैयाँबाट कुनै प्रतिफल पनि प्राप्त नभएको तथ्याङ्कले जनाएको छ । जसले संस्था सञ्चालन तथा व्यवस्थापनमा दक्षता ल्याउनुपर्ने देखिने महालेखाले जनाएको छ ।

Share News