काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । संसदको अधिवेशन अन्त्य भएसँगै बजेटसँग सम्बन्धित अध्यादेशको भविष्य अन्योलमा परेको छ ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले चालु आर्थिक वर्षका लागि जेठ १५ गते अध्यादेश मार्फत बजेट ल्याएको थियो । प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेश मार्फत ल्याइएको सो बजेट सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनस्थापनापछि बनेको वर्तमान सरकारले संसदमा पेश गरेको थियो ।
तर, सरकारले बजेट अध्यादेश संसदमा पेश गरेपनि पारित नहुँदै संसद अधिवेशन अन्त्य गरेपछि बजेटको भविष्य अन्योलमा परेको हो । अधिवेश अन्त्यभएपछि बजेटको भविष्य के हुन्छ भन्ने सन्दर्भमा अहिले नै केही बताउन नसकिने प्रतिक्रिया अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए ।
‘अधिवेशन अन्त्य भएछ र ! म त अफिसकै काममा व्यस्त छु, समाचार हेर्न पनि पाएको छैन, यो सम्बन्धमा थप जानकारी नपाएकोले अब बजेट के हुन्छ भनेर भन्न सकिने अवस्था पनि रहेन,’ अधिवेशन अन्त्यपछि बजेट के हुन्छ भन्ने विकासन्युजको प्रश्नमा अर्थसचिव मरासिनीले भने ।
पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी भने अब अध्यादेश मार्फत अर्काे बजेट आउने सम्भावना देख्छन् ।
‘बजेट अध्यादेश संसदमा पेश भइसकेको छ, यो अधिवेशन भनेको बजेट अधिवेशनको रुपमा बुझिने वर्षे अधिवेशन हो, अधिवेशन अन्त्य भएकोले अब बजेटसँग सम्बन्धित अध्यादेशको भविष्य अन्योलमा देखियो, अर्काे अधिवेशन अब तत्काल आव्हान हुने सम्भावना कम होला, त्यसैले सरकारले अध्यादेश मार्फत अर्काे बजेट ल्याउने सम्भावना देख्छु,’ पूर्व अर्थसचिव डा. सुवेदीले भने ।
कुनै पनि अध्यादेश आएको ६ महिनाभित्रमा संसदमा पेश हुनुपर्छ । सो समयसम्ममा अध्यादेश संसदमा पेश भएन भने स्वतः खारेज हुन्छ ।
यस्तै, संसदमा पेश भएको अध्यादेश पेश भएको मितिले ६० दिनभित्र पारित भइसक्नु पर्छ । अर्थमन्त्री जनार्दशन शर्माले केही साता अघि नै बजेट अध्यादेश संसदमा पेश गरेका छन् ।
अहिले संसदमा पेश भएको बजेट अध्यादेशबाट पारित गर्नको लागि असोज तेस्रो साताअघि नै संसद अधिवेशन बोलाउनु पर्ने हुन्छ, जसको सम्भावना कम छ । अर्थमन्त्री शर्माले साउन ३ गते संसदमा बजेट पेश गरेका थिए ।