काठमाडौं । सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को लागि बजेट सार्वजनिक गरेका छन् । कानुनी व्यवस्था अनुसार प्रदेश सरकारहरुले आज (असार १ गते) सम्बन्धित प्रदेशसभामा बजेट पेश गरेका हुन् ।
आफ्नो प्रदेशको नाम नै राख्न नसकेको प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले बजेट सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षको लागि सो प्रदेशले ४० अर्ब ८९ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
प्रदेश १ सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख, पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब २२ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा कम हो ।
प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । यसमध्ये चालु खर्चतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोेड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् । यस प्रदेशले चालु आवका लागि ३३ अर्ब ५६ करोड ९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको लागि पनि चालु आर्थिक वर्षकै हाराहारीको बजेट ल्याएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
बागमती प्रदेशसभाको आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । यसमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बागमती प्रदेशले चालु आवका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको थियो । बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा बढी हो ।
गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षका प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तीय व्यवस्था तर्फ २४ करोड बजेट विनियोजन गरिएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । सो प्रदेशले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा कम हो ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४० अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार बजेट सार्वजनिक गरको हुन् ।
कुल बजेटमध्ये चालुतर्फ २४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ रहेको छ भने पुँजीगत तर्फ २१ अर्ब १७ करोड रुपैयाँ छ । सो प्रदेशले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो । लुम्बनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा बढी हो ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले साे रकमकाे बजेट प्रस्तुत गरेका हुन् ।
जसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रहेको छ भने चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । चालू आर्थिक वर्षकाे बजेटकाे तुलनामा आगामी आर्थिक वर्षको बजेट बढी हाे । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३३ अर्ब रूपैयाँभन्दा बढी ल्याएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बजेट सार्वजनिक गरेका हुन् ।
उनले कुल बजेटको चालु खर्चतर्फ १० अर्ब ६६ करोड ९ लाख रुपैयाँ र पुँजीगत तर्फ १७ अर्ब ६५ करोड ४० लाख विनियोजन गरेका छन् । यस प्रदेशले चालु आवका लागि ३३ अर्ब ३८ करोड १३ लाखरुपैयाँको बजेट ल्याएको थियो । सूदुरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा कम हो ।