काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानले गरेको व्यवस्था अनुरुप नै बजेट ल्याएको बताएका छन् । कामचलाउ सरकारले पूर्ण आकारको बजेट ल्याउन हुन्छ कि हुन्न भन्ने प्रश्न उठेको भन्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
बजेट सार्वजनिक भएपछि अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘संविधानको व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनै पर्ने वाध्यता छ, प्रतिनिधिसभा नभएको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनुको विकल्प छैन, हामीले संविधानले गरेको प्रबन्ध अनुरुप नै बजेट ल्याएका हौं,’ मन्त्री पौडेलले भने ।
उनले बजेटका अन्य पक्षमा उठेका प्रश्नहरुमा कार्यान्वयन नै सबैभन्दा प्रखर रुपमा उठेको भन्दै कार्यान्वयनमा शंका नगर्न पनि आग्रह गरे ।
‘बजेट राम्रो छ, कार्यान्वयन हुन सक्छ कि सक्दैन भन्ने शंका प्रमुख रुपमा उठाइएको मैले सुनेको छु, हामीले कार्यान्वयन गर्न सक्ने प्रकारको बजेट नै ल्याएका हौं, हामी यो बजेट कार्यान्वयन गरेर देखाउँछौं,’ मन्त्री पौडेलले भने ।
उनले सबै नागरिकलाई खोप निःशुल्क उपलब्ध गराउने पनि बताए । सबै खोप लगाउन योग्य सबै नागरिकले खोप पाउने र त्यो पनि निःशुल्क रुपमा पाउने उनले बताए ।