
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज प्रस्तुत गरेका छन् । उनले आज सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । उनले पौने ३ घण्टा लगाएर प्रस्तुत गरेको निकै महत्वाकांक्षी देखिन्छ ।
उनले बजेटमार्फत कोभिड- १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि परीक्षणको दायरा विस्तार, उपचारको व्यवस्था,स्वास्थ्य उपकरण तथा सामग्रीको आपूर्ति, निःशुल्क खोपको सुनिश्चितता, स्वास्थ्य पूर्वाधार विकासर चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूको प्रभावकारी परिचालन, कोभिड-१९, बाट प्रभावित परिवारलाई राहत, निजीक्षेत्रलाई प्रोत्साहन, सहुलियत र पुनरूत्थानकामाध्यमबाट आर्थिक गतिविधि विस्तारलाई बढी प्राथमिकतामा राखेका छन् ।
यस्तै, श्रम बजारमा प्रवेश गर्ने तथा रोजगारी गुमाएका श्रमिकलाई काम र रोजगारीको सुनिश्चितता, सबै नेपालीलाई जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र संरक्षण, कृषि उत्पादन एवम् उत्पादकत्व अभिबृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति, जीवनपयोगी एवम् सीपयुक्त शिक्षाका लागिपूर्वाधारमा लगानी, तीव्र औद्योगिकीकरण र शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्वकापूर्वाधार निर्माण, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य मार्फत सन्तुलित विकासलाई बढी जाेड दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तोषजनक नै रहेको निजी क्षेत्रको भनाई छ । उनीहरुले कार्यक्रमहरु राम्रै भएपनि कार्यान्वयनमा भने चुनौति हुने धारणा राखेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले यसपालीको बजेटले महामारी नियन्त्रण गर्ने, सबै पक्षले राहत महसुस गर्ने र आर्थिक पुनरुत्थानका लागि केही कार्यक्रम ल्याएकोले सन्तोषजनक मान्नुपर्ने बताए ।
‘बजेटले स्वास्थ क्षेत्रमा बजेट बृद्धि गरी स्वास्थ्य पूर्वाधार निर्माणम जोड दिएको छ, जुन राम्रो र अहिलेको आवश्यकता हो, शिक्षामा बजेट बढेको छ, यो पनि राम्रो हो, करका दरहरु बढाइएको छैन, विभिन्न प्रकारका राहत र छुटका कार्यक्रमहरु छन्, त्यसैले यो राम्रो बजेट हो भनेर स्वीकार गर्नुपर्छ,’ पूर्व अध्यक्ष मुरारकाले भने ।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले पनि समग्रमा आगामी आर्थिक वर्षको बजेट स्वागतयोग् रहेको बताए । उनले परिसंघले अगाडि सारेको मेक इन नेपाल कार्यक्रमले पनि बजेटमा प्रवेश पाएको, स्टार्टअप गर्न चाहनेलाई केही सहज हुने र केही काराबोरका दरहरुमा पनि सहज गरेकोले बजेट सन्तोषजनक नै रहेको बताए ।
यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले पनि आगामी आर्थिक वर्षको बजेट रामै भएको प्रतिक्रिया दिए । ‘बजेटले समग्रमा स्वास्थ्य क्षेत्र,आर्थिक पुनरुत्थानलाई छोएको छ, स्वास्थ्य क्षेत्रमै राम्रो कार्यक्रम भएपनि पुनरुत्थानमा बजेट न्यून भयो, १३ अर्ब न्यून हो, केही करमा पनि सहज बनाएको छ, यसले उद्योगी व्यवसायीलाई पनि सहज हुन्छ,’ उनले भने ।
उनले होटल तथा पर्यटन क्षेत्रलाई उत्पादन क्षेत्रमा राख्नु राम्रो पक्ष भएको बताए । ‘स्टिमुलस प्याकेज आउनु पर्ने हो तर आएन । यसको प्रावधान मौद्रिक नीति मार्फत आउनु पर्छ भनने हाम्रो आशा छ, शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा पाउने, ल्यापटपमा १ प्रतिशत व्याजमा कर्जा, स्टार्टअपमा सहुलियत कर्जा पनि राम्रो व्यवस्था गरेको छ, विद्युतिय उपकरणमा भन्सारका दर घटाएको छ । यो सकारारत्मक विषय हो, कारोबार मुल्यलाई पनि समाधान गर्नु भएको, कार्यान्वयन चुनौतिपूर्ण देखिन्छ,’ उनले भने ।