काठमाडौं । एनआईसी एशिया म्युचल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया डायनामिक डेप्थ फण्ड खुलामुखी योजनामा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार उक्त फण्डको इकाई खरिदको लागि मागभन्दा बढि आवेदन परेकोले आज (मंसिर १६ गते, मंगलबार) बैंकिङ्ग समय पश्चात इकाई बिक्री बन्द हुने भएको हो ।
उक्त फण्डमा हालसम्म ६७ हजार १७६ आवेदकले आवेदन दिएका छन् । एनआइसी क्यापिटलको अनुसार मंसिर १५ गते साँझ साढे ५ बजेसम्ममा ६७ हजार १७६ जना आवेदकले ४ करोड ५७ लाख ७३ हजार ८७० इकाईको लागि ४५ करोड ७७ लाख ३८ हजार ७ सय रुपैयाँ बराबरको आवेदन दिइसकेका छन् । जुन संस्थाले माग गरेको भन्दा १.०७७ गुणा बढी हो ।
संस्थाले गत मंसिर १२ गतेदेखि सर्वसाधरणमा ४ करोड २५ लाख इकाईहरु माग गरेको थियो । फण्डले कुल ५ करोड इकाइ मध्ये बीज पुँजीबापत कुल निष्काशन गरी इकाईको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित राखि अधिकतम ४ करोड २५ लाख इकाई सार्वसाधरणमा बिक्रीमा राखेको हो ।
यससँगै इच्छुक सर्वसाधरणले आज बैकिङ्ग समयभित्रमा आवेदन दिन पाउनेछन् । उनीहरुले प्रतिइकाई १० रुपैयाँका दरले न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्मको आवेदन दिन सक्नेछन् ।