काठमाडौं । बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्नेहरुका लागि सुखद खबर छैन । तर, संस्थापक सेयरमा २ प्रतिशतभन्दा कम लगानी छ भने चिन्ता गर्नुपर्ने अवस्था पनि छैन ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुनेहरुले त्यस्तो सेयर धितो राखेर ऋण लिन वा विक्री गर्नको लागि नयाँ व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा २ प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर धारण गर्ने व्यक्तिहरुले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर मात्रै आफ्नो नामको सेयर अन्य बैंकमा धितो बन्धक राख्न वा विक्री गर्न पाउने व्यवस्था गरेको छ ।
यसरी स्वीकृति माग गर्दा जुन संस्थाको सेयर धितो राखिने हो सो संस्थाले निजको सेयर स्वामित्व तथा धितो रहे नरहेको विवरण समेत पेश गरी राष्ट्र बैंक समक्ष स्वीकृति माग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
संस्थापक सेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनरसंरचना र पुनरतालिकीकरण गर्न पनि नपाइने व्यवस्था गरिएको छ । तर, ०.५ प्रतिशतसम्म संस्थापक सेयर स्वामित्व रहेका संस्थापकले सेयर धितो राखी कर्जा उपयोग गरिरहेको भएमा कर्जाको सम्पूर्ण बक्यौता व्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा भने त्यस्तो कर्जा नवीकरण गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।