काठमाडौं । सरकारले वायुसेवा कम्पनीहरुलाई विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेकाे छ । लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई सरकारले राहत स्वरुप ७५ प्रतिशत छुट दिने निर्णय गरेकाे हाे ।त्यस्तै, आन्तरिक एवं अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र कम्पनीले भाडामा लिएर विभिन्न प्रकारका सेवा दिइरहेका पसलहरुको भाडा चैत १ गतेदेखि लकडाउन खुलेको मितिले १ महिनासम्म कोठा वा कवलको बहालमा र बहालकरमा ७५ प्रतिशका दरले छुट दिने निर्णय समेत गरिएको बताइएकाे छ । सो अवधिसम्म त्यस्ता कम्पनीलाई जारी हुने बिलमा विलम्व शुल्क नलिने समेत जनाइएको छ ।
वायुसेवा कम्पनीहरुले नियमित रुपमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी अवधि समेत बढाइएको छ । जसअनुसार त्यस्तो शुल्क २०२० को डिसम्बर ३१ सम्म भुक्तानी गर्ने समयावधि दिइएको छ । त्यस्तै, वायुसेवाको सञ्चालन अनुमतिपत्र दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा ५० प्रतिशत छुट दिने समेत निर्णय गरेकाे छ ।