बजेट कार्यान्वयनमा सरकार असफल, खर्च र आम्दानी लक्ष्यको ६० प्रतिशत मात्रै

<p>काठमाडौं । चालु आर्थिक वर्षको लागि बजेटमा लिइएका लक्ष्य भेट्टाउन सरकार पूर्णतः असफल भएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्रै बाँकी रहदा सरकारले लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व उठाएको छ भने खर्च पनि सोही अनुपातमा गरेको छ । सरकारको आम्दानी र खर्चको हिसाव राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार १० गतेसम्ममा संघीय [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको लागि बजेटमा लिइएका लक्ष्य भेट्टाउन सरकार पूर्णतः असफल भएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्रै बाँकी रहदा सरकारले लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व उठाएको छ भने खर्च पनि सोही अनुपातमा गरेको छ ।

सरकारको आम्दानी र खर्चको हिसाव राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार १० गतेसम्ममा संघीय सरकारले विनियोजित बजेटको करिब ६० प्रतिशत मात्रै खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट खर्च गर्ने भनेर संसदबाट स्वीकृति लिएको थियो । तर, असार १० गतेसम्ममा सरकारले जम्मा ९ खर्व १६ अर्व ७१ करोड ६३ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । सरकारले खर्च गरेको रकम कुल विनियोजित बजेटको ५९.८ प्रतिशत मात्रै हो ।

खर्चमध्ये पनि विकास निर्माणका काम गरिने पुँजीगत बजेट खर्चको अवस्था दयनीय छ । सरकारले असार १० गतेसम्ममा लक्ष्यको एक तिहाइ विकास बजेट पनि खर्च गर्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षमा ४ खर्व ८ अर्व ५९ लाख रुपैयाँ पुँजीगत बजेट खर्च गर्ने भनेर संसदबाट स्वीकृति लिएकोमा असार १० गतेसम्ममा जम्मा १ खर्व ३१ अर्व ९२ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । सरकारले विनियोजित बढेको जम्मा ३२.३३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

पुँजीगत खर्चको अवस्था दयनीय देखिए पनि चालु खर्च केही बढी देखिएको छ । यस्तै सरकारले तिर्नुपर्ने स्वदेशी तथा विदेशी ऋणको सावाँ व्याज भुक्तानीको लागि राखिएको बजेट भने आधा जति खर्च भएको छ । महालेखाका अनुसार असार १० गतेसम्ममा चालु बजेट ७२. ५८ प्रतिशत र वित्तीय व्यवस्थापनको बजेट ५३.७ प्रतिशत खर्च भएको छ ।

सरकारले असार १० गतेसम्ममा लक्ष्यको ६१.४६ प्रतिशत राजस्व उठाएको छ । चालु आर्थिक वर्षमा सरकारले ११ खर्व १२ अर्व ३ करोड ३२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यसमध्ये हिजो (असार १० गते) सम्ममा ६ खर्व ८३ अर्व ४८ करोड ३४ लाख रुपैयाँ राजस्व उठाएको छ ।

राजस्व मध्येपनि कर राजस्व लक्ष्यको ६१.२७ प्रतिशत उठेको छ । गैरकर राजस्व भने ६३.३४ प्रतिशत उठेको छ । सरकारले विदेशी सहयोग ल्याउन भने सकेको छैन । महालेखाका अनुसार गत असार १० गतेसम्ममा सरकारले वैदेशिक अनुदान वार्षिक लक्ष्यको २८.६८ प्रतिशत मात्रै ल्याएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५७ अर्व ९९ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने भनेको थियो । तर, असार १० गतेसम्ममा सरकारले १६ अर्व ६३ करोड ४५ लाख रुपैयाँ मात्रै अनुदान प्राप्त गरेको छ ।

Share News