काठमाडाैं । नेपाल लघुवित्त बैंकर्स संघ(एनएमबीए) ले पुनरकर्जाको व्याजदर १ प्रतिशत कायम गर्न सुझाव दिएको छ । संघले पुनरकर्जा कार्यविधि सम्बन्धमा नेपाल राष्ट्र बैंक समक्ष उक्त सुझाव राखेको हो ।
लघुवित्त संस्थाहरुले पाउने पुनरकर्जा सुविधाको ब्याजदर सबैभन्दा कम दरको भएमा संस्थाको कोषको लागत घट्न गई यसबाट सबै ऋणीहरु लाभान्वित हुने संघका अध्यक्ष बसन्तराज लमसालले बताएका छन् ।
त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरुका लागि पृथक विशेष प्रकृया अवलम्वन गर्नु पर्ने संघकाे माग रहेकाे छ । लघुवित्त संस्थाहरु आफ्नो व्यवसाय र कार्य प्रकृतिका कारण अन्य बैंक तथा वित्तीय संस्थाहरु भन्दा भिन्न छन् । तसर्थ यी संस्थाहरुका लागि पुनरकर्जा सुविधाका लागि छुट्टै र विशेष प्रकृयाको व्यवस्था गर्नु उचित हुन्छ ।
संघका अनुसार लघुवित्त वित्तीय संस्थाहरुलाई संस्थागत आधारमा एकमुष्टरुपमा पुनरकर्जा उपलब्ध हुनु पर्ने । लघुवित्त संस्थाहरुले प्रवाह गर्ने कर्जा रकम स-साना हुने हुँदा ऋणीका आधारमा पुनरकर्जा व्यवस्थापन निकै चुनौतीपूर्ण हुन्छ । संस्थागत आधारमा एकमुष्टरुपमा पुनरकर्जा उपलब्ध हुँदा संस्थाको कोषको लागत घट्ने र सोही अनुसार ब्याजदर समायोजन भई सबै ऋणीले फाईदा पाउने अवस्था हुन्छ ।
पुनरकर्जाको अवधि एक वर्ष स्वतः नविकरण हुने व्यवस्था हुनु पर्ने छ ।
लघुवित्त संस्थाहरुको कार्य प्रकृतिका कारण पुनरकर्जा सुविधाको समुचित उपयोगका लागि एक वर्षको समय छोटो देखिन्छ । अवधि थप गर्न सकिने प्रावधानले लघुवित्त संस्थाहरुलाई पुनरकर्जा रकमको प्रयोग गर्न र समयमा फिर्ता गर्न उचित योजना बनाउन सहज हुनेछ ।
पुनरकर्जा सुविधाको सीमा कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशत सम्म हुनु पर्ने छ ।
विद्यमान परिस्थितिमा लघु तथा साना उद्यमीहरुलाई प्राथमिकता दिने विभिन्न नीतिगत व्यवस्था हुँदै आएको देखिन्छ । लघुवित्त संस्थाहरुले बढी भन्दा बढी यस्ता उद्यमीहरुसँग सहकार्य गर्दै आएको सन्दर्भमा उनीहरुको पहुँचमा बढी भन्दा बढी पुनरकर्जा कोषको रकम पुर्याउनु वान्छनिय हुन्छ ।