काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखी २ अर्ब रुपैयाँ नाघेको छ । बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल-टाइम रिटेल भुक्तानी प्रणालीमा हाल सम्मको सबैभन्दा बढि कारोबार भएको छ ।
विगतकोे तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आईपीएस ईपेमेन्टको मासिक कारोबारमा संख्या र मुल्यको आधारमा क्रमश ७५ प्रतिशत र १८६ प्रतिशतले वृद्धि भएको छ । उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरुको कुल मासिक कारोबार क्रमश १३ अर्ब ८ कराेड, २४ अर्ब रूपैयाँ ३९अर्ब ५ कराेड रूपैयाँ रहेका छन् । जसमध्ये ६४ प्रतिशत कारोबारहरु एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस(एनपीआई) मार्फत कारोबार पेश भएका छन् । एकीकृत एपीआईमा आधारित एनपीआईमामा संस्थाहरुले विभिन्न वैकल्पिक माध्यमबाट कनेक्ट आईपीएस वा एनसीएचएल आईपीएस वा अन्य प्रणालीमा कारोबारहरु पठाउन सक्दछन् ।
कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीको मोबाइल एप, वेब र बैंक शाखा जस्ता वैकल्पिक च्यानलहरु बाहेक एनपीआईले पनि कनेक्ट आईपीएस को कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ । एनपीआईले बैंक तथा वित्तिय संस्थाहरुको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिंग जस्ता वैकल्पिक च्यानलहरु, पीएसपीएस/पीएसओएस सरकारी निकायहरु र अन्य ठूला संस्थाहरुबीच इन्टिग्रेशन र इन्टेरोपेर्याबिलिटीका लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ । हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्राय सबै बीमा कम्पनी, रेमिटान्स कम्पनी, नेप्से, शेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोेष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरुमा जोडी प्रयोगमा आइसकेको छ ।
कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा हाल सम्म ५८ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु आबद्ध छन् जस मार्फत बैंकका ग्राहकहरुले प्रयोगकर्ताको बैंक खातामा मोबाइल नम्बरका आधारमा तथा अन्य लाभग्राहीको बैंक खाता विवरणको आधारमा सिधैं फण्ड ट्रान्सफर गर्न सक्दछन् । उक्त फण्ड ट्रान्सफरहरु सजिलै बैंकको आफ्नो मोबाइल वा इन्टरनेट बैंकिंगबाट गर्न सकिन्छ जसमा कनेक्ट आईपीएस को छुट्टै लग-इन चाहिँदैन । यस प्ल्याटर्फमा उपलब्ध अन्य भुक्तानीहरुमा नेपाल सरकारको राजस्वभुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा टप अप, सेयर बजारसंग सम्बन्धित भुक्तानी, ई-कमर्श भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ । मोबाइल, वेब, गेटवे र एपीआई जस्ता मल्टिपल च्यानलहरु मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरु, भुक्तानी सेवाप्रदायक,, भुक्तानी प्रणाली संचालक तथा अन्य संस्थाहरुले उक्त प्रणालीमा भुक्तानीे कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रणालीमा सम्पूर्ण कारोबारहरु सिधैं बैंक खाताबाट हुने गर्दछन् ।
एनसीएचएलले हाल आफ्नो सम्पूर्ण प्रणालीहरुबाटरु १ लाखभन्दा बढिको दैनिक औसत कारोबारहरु गर्दै आएको छ जसको दैनिक राफसाफ मुल्य ४० अर्ब रुपैयाँभन्दा बढि रहेको छ । यद्यपी अन्य भुक्तानी प्रणाली जस्तै कनेक्ट आईपीएस पूर्ण डिजिटल भुक्तानी प्ल्याटफर्म हो जसले बैंक वित्तिय संस्थाका ग्राहकहरुलाई वैकल्पिक च्यानलहरु मार्फत कारोबार गर्ने व्यवस्था प्रदान गर्दछ । यस कोभिड-१९ लकडाउनको अवस्थामा अन्य प्रणालीहरुमा कारोबार संख्या कम हुँदा समेत कनेक्ट आईपीएसको कारोबारमा भएको वृद्धिले डिजिटल भुक्तानीको स्वीकार्यता बढेको वा त्यस दिशातिर लागेको संकेत गर्दछ । यसबाट लकडाउन पछि नेपालमा डिजिटल भुक्तानी कारोबारको उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालराष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाहरुद्वारा प्रबद्र्धित यस एनसीएचएलले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, कनेक्ट आईपीएस, ईपेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।