मौद्रिक नीतिका लागि लघुवितको सुझावः गाभ्ने र गाभिने संस्थालाई सुविधादेखि विशेष लघुवित्त कोष स्थापना गर्नेसम्म

<p>काठमाडाैं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले आर्थिक वर्ष २०७७/७८ को माैद्रिक नीतिका लागि विभिन्न सुझाव दिएकाे छ । संघले नेपाल राष्ट्र बैंक समक्ष गाभ्ने र गाभिने संस्थालाई सुविधादेखि विशेष लघुवित्त कोष स्थापना गर्नेसम्म सुझाव पेश गरेकाे हाे । विपन्न वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्त क्षेत्रको पुनरउत्थानको लागि संघले आगामी आर्थिक वर्षको माैद्रिक नीतिमा विभिन्न [&hellip;]</p>

काठमाडाैं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले आर्थिक वर्ष २०७७/७८ को माैद्रिक नीतिका लागि विभिन्न सुझाव दिएकाे छ । संघले नेपाल राष्ट्र बैंक समक्ष गाभ्ने र गाभिने संस्थालाई सुविधादेखि विशेष लघुवित्त कोष स्थापना गर्नेसम्म सुझाव पेश गरेकाे हाे ।

विपन्न वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्त क्षेत्रको पुनरउत्थानको लागि संघले आगामी आर्थिक वर्षको माैद्रिक नीतिमा विभिन्न १० बुँदे सुझावहरु पेश गरेको छ ।

लगानीको स्रोत परिचालन तथा लागत कम गर्ने

लघुवित्त संस्थाहरुले भोग्दै आएको लगानी योग्य स्रोतको अपर्याप्तता तथा कोषको उच्च लागत कम गर्नका लागि विशेष लघुवित्त कोष स्थापना गर्ने संघकाे सुझाव रहेकाे छ । उक्त काेष स्थापना गरी हालको विषम परिस्थितिका कारण लघुवित्त संस्थाहरुमा पर्न सक्ने अल्पकालिन तथा दिर्घकालिन असरलाई मध्यनजर गर्दै एउटा विशेष कोषको व्यवस्था गर्न उपयुक्त हुनेछ । यस प्रकारको कोष अन्य प्रयोजनका अतिरिक्त विभिन्न कारणले समस्याग्रस्त हुन पुगेका संस्थाहरुलाई उद्धार गर्न सहायक सिद्ध हुने र कोषको व्यवस्था विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहुलियतपूर्ण ऋणबाट समेत गर्न सकिने देखिएको छ ।

त्यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न बर्ग कर्जा अन्तर्गत ५ प्रतिशत लगानी गर्नुपर्ने हालको व्यवस्थामा ती संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गरेको थोक कर्जालाई मात्र गणना गर्न पाउने व्यवस्था गर्ने संघकाे सुझाव रहेकाे छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले कूल कर्जाको ३ प्रतिशत सम्मको रकम कृषि कर्जाको रुपमा लघुवित्त संस्थाहरु मार्फत प्रवाह गर्ने संघले जनाएकाे छ ।

त्यसैगरी, गैर बैंकिङ्ग संस्थाहरु जस्तै, नागरिक लगानी कोष, कर्मचारी संचय कोष, बीमा कम्पनीहरुबाट लघुवित्त क्षेत्रमा सहुलियतपूर्ण ऋण तथा अन्य लगानीको व्यवस्था गर्ने । दूरदराजका ग्रामिण क्षेत्रहरुमा लघुवित्त संस्थाहरुले आफ्ना समूह तथा सदस्यहरुमा पुर्याउँदै आएको सेवाको कारण आर्जित सर्वसाधारणको विश्वास र उनीहरुको बढ्दो मागका कारण लघुवित्त संस्थाहरुलाई सर्वसाधारणबाट पनि केही सर्तहरु सहित बचत संकलन गर्न दिने संघकाे माग रहेकाे छ ।

साथै, लघुवित्त संस्थाहरुले पनि निश्चित मात्रामा ऋणपत्र जारी गरेर लगानी योग्य स्रोतको व्यवस्था गर्न दिने ।

विपन्न वर्ग कर्जाको लागत कम गर्ने

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग कर्जालाई एउटा छुट्टै सेवाको रुपमा प्रवाह गर्ने र सो सेवाको ब्याज दर आधार दर कायम गर्नु उपयुक्त हुने संघले देखेकाे छ ।

दुर्गम क्षेत्रमा लघुवित्त कार्यक्रम विस्तारलाई प्रबर्धन गर्ने

बैंकिङ्ग पहुँच नपुगेका दुर्गम क्षेत्रमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने लघुवित्त संस्थाहरुलाई शाखा विस्तार गर्न उत्प्रेरित/प्रोत्साहन गर्न सरकारी स्तरबाट कम्तीमा ३ वर्षको लागि प्रति शाखा १ करोडको दरले शुन्य ब्याजदरमा कर्जा सापट उपलब्ध गराउन उपयुक्त हुने छ ।

प्रभावकारी कर्जा सूचना व्यवस्था गर्ने

लघुवित्त संस्थाहरुलाई कर्जा सूचना केन्द्रको सञ्जालमा आवद्ध गर्न, नियतवस कर्जा चुक्ता नगर्ने ऋणीलाई नागरिक सुविधाबाट बञ्चित गर्न, तथा सम्बन्धित ऋणीको कर्जा चुक्ता भए पश्चात कालोसूचीबाट फुकुवा गर्ने आवश्यक नीतिगत व्यवस्था गर्न उपयुक्त हुने छ ।

सूचना प्रविधिको उच्चतम प्रयोग

लघुवित्त संघका अनुसार लघुवित्त संस्थाका कारोबारलाई क्रमशः डिजिटल प्रविधिमा रुपान्तरण गर्न आवश्यक पूर्वाधारमा लगानी गर्न सार्वजनिक निजी साझेदारी अवधारणालाई प्रोत्साहन गर्न उपयुक्त हुनेछ ।

गाभ्ने तथा गाभिने लघुवित्त संस्थालाई दिने सुविधा

लघुवित्त संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिने कार्यलाई थप प्रभावकारी बनाउन केहि समय मुनाफा करमा सहुलियत दिने, नेपाल राष्ट्र बैंकमा पेश भएको प्रस्ताव अनुसार शाखा गाभिने स्वीकृति पश्चात ती शाखा गाभिन पुनः स्वीकृति लिनु नपर्ने, शाखा गाभिने क्रममा ऋणी सदस्य गाभिँदा कर्जा सिमामा ल्याउने समय सिमा न्युनतम १ बर्ष राख्नु पर्ने, पुँजी पर्याप्तताको स्थिति अनुसार हकप्रद सेयर जारी गर्न दिने, गाभिए पश्चातको संस्थाको स्थापना वर्ष जेठो संस्थाको स्थापना वर्षको आधारमा कायम गर्ने लगायतका थप प्रोत्साहनको व्यवस्था गर्न उपयुक्त हुनेछ ।

समयानुकुल लघुवित्त नीति

राष्ट्रिय लघुवित्त नीति २०६२ मा उल्लेखित कतिपय प्रावधानहरु लागु नभएको र बदलिँदो परिवेशमा लघुवित्त क्षेत्रलाई स्पष्ट दिशा निर्देश गर्न यस नीतिको पुनरावलोकन सहित समयानुकुल लघुवित्त नीति तर्जुमा गर्न उपयुक्त हुनेछ ।

धितो कर्जा लगानीको सीमा

सदस्यहरुलाई जिबिकोपार्जन र व्यवसाय सुचारु गर्नका लागि केही समयसम्म थप रकमको आवश्यकता हुनेछ । त्यसैले व्यवस्था गर्नु उपयुक्त हुनेछ ।

एकल ग्राहकले बिना धितो तथा धितो सुरक्षण ऋण गरी दुबै किसिमको कर्जा लिन पाउने र लघुवित्त संस्थाहरुले पनि आफ्नो आधार दर कायम गरी सोमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याज दर कायम गर्न पाउनु पर्ने छ ।

त्यस्तै, लघु व्यवसाय वा परियोजना सञ्चालन तथा प्रबद्र्धन गर्न उत्प्रेरित गर्न स्वीकारयोग्य धितो सुरक्षण लिई खुद्रा कर्जा कारोवार गर्ने लघुवित्त संस्थाले प्रति ऋणी सदस्य बढीमा २५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने । उक्त कर्जा गाउँपालिकाका अतिरिक्त नगरपालिकामा समेत बसोबास गर्ने ग्राहक सदस्यहरुले उपभोग गर्न पाउने पर्ने संघकाे सुझाव रहेकाे छ ।

हालको असहज परिस्थितिका कारण खराब कर्जाको मात्रा बढ्न गई ब्यवसायको उच्च जोखिमलाई केही हदसम्म कम गर्न धितो लिई प्रवाह गरिने कर्जा कुल कर्जा रकमको बढीमा दुई तिहाई भन्दा बढी नहुने व्यवस्था गर्नु पर्ने छ ।

साथै, लघुवित्त संस्थाहरुले पनि आफ्नो आधार दर कायम गरी सोमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याज दर कायम गर्न पाउने संघकाे माग रहेकाे छ ।

संस्थागत क्षमता अभिवृद्धि

लघुवित्त संस्थाहरुले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा बढी लाभांशको २५ प्रतिशत संस्थागत समाजिक उत्तरदायित्व कोषमा राख्नुपर्ने प्रावधान न्यायोचित नभएकोले सो को सट्टा आफ्नो संस्थागत क्षमता अभिवृद्धि कार्यक्रममा प्रयोग गर्न पाउनु पर्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ ।

कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना

हालको परिस्थितिको कारण ऋण तिर्ने क्षमतामा ह्रास आउने तथा सञ्चालित व्यवसाय/परियोजनामा असर परी ऋणीले कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना गर्न चाहेमा लघुवित्त संस्थाले एक पटकका लागि १ वर्षसम्म कर्जा भुक्तानी अवधि थप हुने गरी पाकेको ब्याज पूँजीकरण सहित कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना गर्ने व्यवस्था लागु गर्न उपयुक्त हुने छ ।

Share News