
काठमाडौं । सेयर बजार आगामी वैशाख ३० गतेदेखि मात्र खुल्ने भएको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डमा बसेकाे बैंठकले हाल बन्द रहेको सेयर काराेबार आगामी मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले आगामी आइतबार र सोमबार लकडाउनअघि कारोबार भएका सेयर सेटलमेन्टका तथा कारोबार सुचारु गर्ने आन्तरिक तयारी गर्नुपर्ने भएकाले मंगलबारदेखि मात्र कारोबार शुरु गर्ने बताएका छन् । तर, धितोपत्र बजार सम्बन्धित संघसंस्थाहरु भने आगामी आइतबारदेखि नै खुल्ला हुने उनले जानकारी दिए ।
उनका अनुसार मंगलबारदेखि बजारमा दैनिक २ घण्टा मात्र कारोबार हुने भएको छ । यससँगै, लकडाउनको अवधिभर सेयर बजार बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला हुने छ ।
‘मंगलबारदेखिको कारोबारमा नेप्से परिसूचक २ प्रतिशत भन्दा तलमाथि भएमा सो दिन कारोबार बन्द हुनेछ । त्यस्तै, सेयर मूल्यमा पनि ३ प्रतिशत घटबढ नहुने व्यवस्था गरिएको छ । ’- अध्यक्ष ढुङ्गानाले विकान्युजसँग भने । यसअघि दिनमा सेयर मूल्य १० प्रतिशतले घटबढ भए काराेबार बन्द हुने गरेकाे थियाे ।
जारी रहेको लकडाउनको बीचमा खुल्न लागको बजारमा बोर्डले धितोपत्रसँग सम्बन्धित संघ संस्थाहरूका कर्मचारीहरूलाई पास उपलब्ध गराउने भएको । तर, लगानीकर्ताहरुलाई भने पास उपलब्ध गराउन सम्भव नभएको अध्यक्ष ढुङ्गानाले बताए ।
काेराेना भाइरस प्रकाेपले लकडाउन शुरु भएसँगै सेयर बजार पनि गत चैत १० गतेदेखि हालसम्म निरन्तर बन्द रहेकाे छ ।
[pdf id=212830]