लकडाउनमा डिजिटल बैंकिङः कारोबार गर्ने ४० प्रतिशत घटे, रकम भने ह्वात्तै बढ्यो

<p>काठमाडौं । कोरोना संक्रमण फैलनबाट रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेपछि डिजिटल बैंकिङमा उल्लेख्य सुधार हुने धेरैको अनुमान थियो । लकडाउनमा सर्वसाधारणलाई घर बाहिर जान अप्ठेरो हुने तथा नोटबाट पनि कोरोना भाइरस सर्न सक्छ भन्ने सन्देश प्रवाह भएकोले डिजिटल बैंकिङले फड्को मार्ने नीति निर्माता र बैंकरसम्मले गरेका थिए । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकले भने [&hellip;]</p>

काठमाडौं । कोरोना संक्रमण फैलनबाट रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेपछि डिजिटल बैंकिङमा उल्लेख्य सुधार हुने धेरैको अनुमान थियो ।

लकडाउनमा सर्वसाधारणलाई घर बाहिर जान अप्ठेरो हुने तथा नोटबाट पनि कोरोना भाइरस सर्न सक्छ भन्ने सन्देश प्रवाह भएकोले डिजिटल बैंकिङले फड्को मार्ने नीति निर्माता र बैंकरसम्मले गरेका थिए । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकले भने लकडाउनपछि डिजिटल बैंकिङ गर्नेको संख्या घटेको देखाएको छ ।

पहिला विजुलीको विल, मोबाइल, टेलिफोनको विल तिर्न तथा प्लेनको टिकट काट्न बढी मात्रामा प्रयोग भएको डिजिटल बैंकिङ पछिल्लो समय दैनिक उपभोग्य बस्तु खरिदमा पनि प्रयोग हुन थालेको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । दैनिक उपभोग्य बस्तुको खरिदमा पनि डिजिटल बैंकिङ कारोबार हुन थालेकोले कारोबार रकम भने धेरै बढेको उनको भनाइ छ ।

‘सामान्य अवस्थाको तुलनामा लकडाउनको समयमा डिजिटल बैंकिङ गर्नेको संख्या ६० प्रतिशत मात्रै छ, तर कारोबार रकम भने घटेको छैन, यसको अर्थ कारोबार गर्नेहरुको संख्या घटेपनि कारोबार रकम भने बढेको हो,’ कार्यकारी निर्देशक नेपालले भने ।

लकडाउनको समयमा डिजिटल बैंकिङ बढ्ने भन्दै बैंकहरु विभिन्न कार्यक्रम र योजना ल्याएका छन् । डिजिटल कारोबार बढाउनकै लागि नेपाल राष्ट्र बैंकले पनि यस्तो सेवा निःशुल्क दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेको छ ।

लकडाउनको समयमा ग्राहकले बैंकसँग आएर कारोबार गर्न अप्ठेरो हुने भन्दै बैंकहरुले ग्राहकको मोबाइल वा टेलिफोन नम्बरमा फोनै गरेर डिजिटल बैंकिङ सिकाइरहेका छन् । अहिले संचालनमा रहेका सबै बैंकले आफ्नै मोबाइल एप मार्फत पनि बैंकिङ कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् भने इसेवा, प्रभु पे, आइएमइ पे, सेल पे जस्ता भुक्तानी सेवा प्रदायकले पनि लकडाउनमा डिजिटल कारोबारमा सर्वसाधारणलाई आकर्षित गर्न प्रयास गरिरहेका छन् ।

सरकारले लागू गरेको लकडाउनका कारण उपभोग्य बस्तु विक्री गर्ने पसल बन्द भएका, कोरोना संक्रमण सन्त्रासको कारण सर्वसाधारणले बाहिर सामान किन्न कम गरेको, होटल, रेष्टुरेन्ट, सिनेमा घर, हवाइ सेवा जस्ता क्षेत्र बन्द भएका कारण पनि उपभोगमै कमी आएर कारोबार गर्नेहरुको संख्या घटेको हुन सक्ने अनुमान राष्ट्र बैंकको छ ।

सम्बन्धित सामग्री

डिजिटल बैंकिङः लकडाउनले ग्राहकलाई साक्षर बनायो

२०७७ सालः डिजिटल बैंकिङ अबको आधार

४ महिनामा बैंकहरुको करिब ५ अर्ब आम्दानी गुम्दैछ

लकडाउनलाई अवसरमा परिणत गर्दै माछापुच्छ्रे बैंक, मोबाइल बैंकिङका ग्राहक १०० प्रतिशत सक्रिय

Share News