४ महिनामा बैंकहरुको करिब ५ अर्ब आम्दानी गुम्दैछ

  २०७६ चैत २९ गते १४:१६     विकासन्युज

माछापुच्छ्रे बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइरालालाई नियुक्त गरेको तीन साता भएको छ । यद्यपी उहाँले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बैशाख १ गतेदेखि समाल्दै हुनुहुन्छ । कोरोना महामारीले विश्व आक्रान्त भएको र नेपालसहित विश्व अर्थतन्त्रमा ठूलो क्षति भईरहेको बेलामा उहाँले सीईओको जिम्मेवारी पाउनु भएको छ । यस्तो अवस्थामा बैंकलाई कसरी चलाउनुहुन्छ ? स्टेकहोल्डरको अपेक्षाहरु कसरी पूरा गर्नुहुन्छ ? प्रस्तुत छ यहि विषयमा केन्द्रीत भई कोइरालासँग विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलले गरेका विकास वहस ।


नेपालसहित विश्वको अवस्था खराब भएको बेलामा तपाई बैंकको सीईओमा नियुक्त हुनुभयो । यो अवस्थामा बैंकलाई कसरी अगाडि बढाउनु हुन्छ ?

यो कसैले पनि नसोचेको अवस्था हो । र, विश्वभर देखिएको समस्या हो । बेलायत जस्तो राम्रो हेल्थकेयर सिस्टम भएको देशका प्रधानमन्त्री बोरिस जोनशन आईसीयूमा बस्नुपरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रप जस्तो शक्तिशाली व्यक्ति अहिले निकै तनावमा पुगेका छन् । भारतमा समेत कोरोना संक्रमण निकै फैलिएर गएको छ । विश्व अर्थतन्त्रमा नै ठूलो समस्या आएको छ ।

अत्यन्तै कठिन अवस्थामा मैले यो जिम्मेवारी पाएको छु । चुनौतिलाई अवसरको रुपमा लिएर बैंकलाई अगाडि बढाउनुपर्ने अवस्था छ । डराएर, आत्तिएर हुँदैन । पद नयाँ भए पनि बैकिङ क्षेत्र मेरो लागि नयाँ होइन । २१ वर्षसम्म यहि क्षेत्रमा काम गरेको अनुभव छ । कोरोना महामारीको असर सबै बैंकलाई पर्छ, माछापुच्छ्रे बैंकलाई पनि पर्छ । अब कसरी असरलाई न्युनिकरण गर्ने भन्ने हो । बैशाख १ गतेदेखि लागू हुने गरी बैंक सञ्चालक समितिले मलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ । पहिला आफू, आफ्नो परिवार, बैंकको परिवारलाई र सर्वसाधारणलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर ध्यान दिनुपर्यो । त्यसपछि बैंकको सेवा कसरी राम्रो बनाउने, बिजनेश कसरी बढाउने, लगानीकर्तालाई कसरी उच्चतम लाभ दिने भन्नेमा हाम्रो ध्यान केन्द्रीत हुनुपर्छ ।

लकडाउनको समयमा बैंक कसरी चलाइरहनु भएको छ ?

ग्राहकको माग र सुविधालाई हेरेर विभिन्न ठाउँमा शाखाहरु सञ्चालन गरेका छौं । ग्राहकहरुले फोन गरेर, इमेल गरेर, भाइवर वा फेसबुकबाट विभिन्न विषयमा जानकारी माग्नु भएको छ । हामीले उहाँहरुलाई सहयोग गरिरहेका छौं । दैनिक औसतमा ३३ वटा शाखा खुलिरहेका छन् । विस्तारै थप शाखाहरु पनि सञ्चालनमा ल्याउने तयारीमा छौं । काठमाडौं, पोखरा, भैरहवा, विराटनगर, चितवनमा एक भन्दा बढी शाखा खोलेर सेवा दिईरहेका छौं ।

चैत मसान्त ऋणीहरुले किस्ता तिर्ने समय हो । यतिबेला ऋणीहरुको प्रतिक्रिया कस्तो छ ?

मिश्रित छ । केही दुविधा पनि देखिन्छ । राष्ट्र बैंकको सर्कुलरमा चैत मसान्तभित्र किस्ता तिर्नेलाई व्याजमा १० प्रतिशत छुट दिने भनिएको छ । हाम्रो बुझाइमा यस्तो छुट टर्म लोन (आवाधिक कर्जा) लिनेका लागि मात्र हो । ओभर ड्राफ्ट लिनेको लागि होइन । तर अहिले ओभरड्राफ्ट सुविधा लिनेहरुले पनि यस्तो सुविधा पाउनु पर्ने हो भन्ने चाहना राख्नु भएको छ । यो विषयमा हाम्रो बैंक भित्र पनि र बैंकर्स संघमा पनि छलफल भएको छ ।

व्याज छुट दिन तत्काल हाम्रो सफ्टवेयरले सपोर्ट गर्दैन । त्यसैले चैत मसान्तमा पुरै व्याज लिन बैशाख लागेपछि बैंकका कर्मचारीले हिसाव निकालेर सम्बन्धित ग्राहकको चालु खातामा पैसा फिर्ता गर्नु पर्ने भएको छ ।  ओभर ड्राफ्ट लिने ग्राहकहरुले व्याजको १० प्रतिशत छुट नपाउने हो भने किन चैतमा व्याज लिन्छौं, जेठसम्म हामीले तिर्न पाउने सुविधा छ भनेर भनिरहेका छन् । यसले ऋणीहरुमा केही दुविधा भएको देखाउँछ ।

दुविधा हटाउने गरि भनिदिनुहोस् न त । ऋणीले के के सुविधा पाउँछन् ? के के सुविधा नखोज्दा हुन्छ ?

चैत मसान्तभित्र मासिक वा त्रैमासिक किस्ता भुक्तानी गरेमा चैत महिनामा लाग्ने व्याजको १० प्रतिशत बैंकले नै तिरिदिन्छ । यदि उनीहरुले चैतमा कर्जा तिर्न सकेनन् भने असारमा एकै पटक तिर्नुपर्ने हुन्छ । चैतको किस्ता नतिरेबापत कुनै पनि प्रकारको जरिवाना वा हर्जना लाग्दैन । असारमा तिर्दा चैत मसान्तमा तिर्नु पर्ने र असार मसान्तसम्ममा तिर्नु पर्ने दुबै किस्ता तिर्नुपर्छ । तर ओभरड्राफ्ट लोनको व्याजमा सरकारले कुनै पनि किसिमको छुट दिएको छैन । चैत अन्त्यमा वर्किङ क्यापिटलको व्याज तिर्न सकेन भने जेठ अन्त्यसम्म तिर्दा पनि कुनै पनि प्रकारको पेनाल, शुल्क वा हर्जना लगाउन पाइदैन ।

ऋणीहरु चैत मसान्तमा किस्ता तिरेर व्याजको १० प्रतिशत छुट लिने लाइनमा छन् कि असार मसान्तसम्म कुर्ने लाइनमा छन् ?

कतिपयले माघ, फागुन र चैतको व्याजमा १० प्रतिशत छुट पाउने हो भनेर सोधिरहेका छन् । तर राष्ट्र बैंकले चैत महिनाको व्याजको १० प्रतिशत मात्रमा छुट दिने भनेको छ । मलाई लाग्छ चैत मसान्तमा धेरैले किस्ता नतिरे असारमा नै तिर्ने मनस्थिति बनाएको हुनुपर्छ ।

यो अवस्थामा बैंकहरुको चैत मसान्तको वित्तीय विवरण कस्तो आउँछ ?

एनएफआरएस अनुसार एक्रोलबेसमा वित्तीय विवरण तयार हुन्छ । किस्ता नआउँदैमा वा कर्जा नविकरण नहुँदैमा प्रोभिजन गर्नुपर्दैन । त्यसैले चैत मसान्तको वासलातमा धेरै असर नगर्ला ।  तर आम्दानी घट्छ । डिजिटल सेवाहरुमा कुनै शुल्क लिन नपाउने भनेर राष्ट्र बैंकले भनेको छ । त्यसले बैंकहरुको आम्दानी सिधै घट्ने भयो । दोस्रो, चैतमा कर्जा नविकरण नहुने भयो । कर्जा नविकरण हुँदा पनि बैंकहरुको आम्दानी प्रत्यक्ष रुपमा घट्ने भयो । पुसको तुलनामा चैतमा बैंकहरुको आम्दानी घट्छ, नाफा पनि केही घट्छ ।

असार मसान्तको वासलातमा कस्तो असर देखिएला ?

धेरै कुरा अनिश्चित छ । लकडाउनको अवधि बैंशाख ३ पछि पनि थपियो भने बैंकहरुको वासलातमा धेरै ठूलो असर गर्छ । नयाँ विजनेशन नहुने भयो । आर्थिक वृद्धि पनि अढाई प्रतिशत कम हुन्छ भन्ने विश्लेषण हुन थालिसक्यो । सरकारको विकास खर्च नहोला । सबैतिर डाउन हुने, बैंकको मात्र नाफा बढ्ने भन्ने नहोला ।

मलाई लाग्छ डिजिटल बैकिङबाट २७ वटा बैंकले ४ महिनामा २ अर्ब कमाउँथे । त्यो सेवा बन्द हुने बित्तीकै नाफा घट्ने नै भयो । चैत मसान्तमा कतिले कर्जा तिर्छन्, प्रष्ट छैन । तर तिर्नेहरुको व्याजको १० प्रतिशत फिर्ता गर्नुपर्छ । त्यसमा बैंकहरुले करिब १ अर्ब नोक्सान खाँदैछन् । कर्जा नविकरण ढिला हुँदा बैंकको आम्दानी घट्छ । रेमिट्यान्स कारोबार कम हुँदा, फरेक्सको कारोबार कम हुँदा झण्डै ४ अर्ब नोक्सान हुन्छ । एयरलाइन्स, होटल, टुर एण्ड ट्राभल्स कम्पनी लगायत पर्यटन क्षेत्रबाट कर्जा उठ्न निकै गाह्रो छ । उनीहरुले व्याज पनि दिन सक्दैनन् जस्तो लाग्छ । बैंकहरुको एनपीए कति बढ्छ, हेर्न बाँकी नै छ । त्यसैले असारसम्ममा के हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

विगतमा उद्योग व्यापार नफस्टाउँदा, आर्थिक वृद्धिदर २/३ प्रतिशत हुँदा पनि बैंकिङ व्यवसायको विस्तार राम्रो देखिएको थियो । यसपाली पहिला जस्तो नहोला ?

पहिला जस्तो अहिले हुँदैन । कोरोनाको असर धेरै छ । अर्थिक वृद्धि अढाई प्रतिशत कम हुन्छ भन्ने प्रक्षेपण हुन थालेको छ । विप्रेषण आय निकै घट्छ । नेपालमा भन्दा विदेशमा स्थिति खराब छ । नेपालमा बरु कोरोनाको कारण एक जनाको पनि मृत्यु भएको छैन अहिलेसम्म । तर, विदेशमा नेपालीहरुको निधन भएको खबर आईरहेका छन् । विदेशमा धेरै नेपालीले रोजगारी गुमाएको खबर आइरहेका छन् । त्यसकारण रेमिट्यान्स आय धेरै घट्छ । नेपाल भित्रको पर्यटन र यातायात क्षेत्र नराम्ररी प्रभावित भयो । उद्योगहरु पनि बन्द छ । लकडाउन खुलेपछि पनि उद्योगहरु समान्य अवस्थामा चल्न समय लाग्छ । यी सबै क्षेत्रको असर बैकिङ क्षेत्रमा पर्छ नै ।

मानिसहरुलाई डिजिटल कारोबारमा अभ्यस्त गराउन माछापुच्छ्रे बैंकले कस्तो भूमिका खेल्दैछ ?

हामीले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न अनलाईन मिडियाहरुबाट, सामाजिक सञ्जालबाट, फोनबाट, इमेलबाट सन्देश दिईरहेका छौं । अहिले हामीले कल सेन्टरबाट ग्राहकलाई डिजिटल बैकिङ सिकाइरहेका छौं ।

उपभोक्तालाई डिजिटल कारोबार सिकाउनको लागि बैंकका कर्मचारी आफैमा कति प्रशिक्षित छन् ?

हामीले ट्रेन गरिसकेका छौं । कोरोना आउँछ भनेर होइन, हामीले पहिले नै डिजिटल बैकिङमा धेरै काम गरेका थियौं । बैंकलाई डिजिटाईज बनाउने हाम्रो दीर्घकालिन योजना नै थियो । सोहीअनुसार हामीले प्रडक्टहरु डिजाईन गरेका थियौं । हाम्रो डिजिटल डिपार्टमेन्ट नै अलगै छ । ११/१२ जना कर्मचारीले पहिलादेखि नै यस डिपार्टमेन्टमा काम गरिरहेका छन् । हामीले हरेक ब्रान्चलाई डिजिटल बैकिङ सेन्टरको रुपमा विकास गरेका छौं । कर्मचारीहरुलाई तालिम प्रशस्त थिएका छौं । हाम्रा बैंकका कुनै पनि कर्मचारीलाई कसरी डिजिटल कारोबार गर्ने भनेर सोध्नुभयो भने उहाँहरुले सिकाईदिनुहुन्छ । अहिले त हाम्रो कर्मचारीहरु सबैले ग्राहकलाई फोन गरेर उहाँहरूलाई पनि घरबाटै काम गर्न सिकाईरहनु भएको छ । ग्राहकलाई तपाईं सकेसम्म अफिसमा नआउनुहोस्, मोवाइलबाट, कम्प्युटरबाटै कारोबार गर्नुहोस् भनेर भनिरहेका छौं ।

विगत ३/४ वर्षयता बैंकहरुले शाखा विस्तारमा ठूलो लगानी गरेका छन् । डिजिटल कारोबार वृद्धि गर्दा बैंकहरुको भैरहेको शाखा काम विहिन हुने अवस्था आउँला कि नआउँला ?

यो प्रश्न धेरै सान्दर्भिक छ । हाम्रो पनि १५९ वटा शाखा छन् । अब डिजिटाईजेशनमा जानैपर्छ भन्नेमा हामीमा कत्ति पनि दुविधा छैन । तर डिजिटाईजेशनको प्रक्रियाले लामो समय लिन्छ । डिजिटाईजेशन भन्दा पहिला बैकिङ विषयमा जनचेतना फैलाउने काम गर्न जरुरी छ । अझै पनि ठूलो जनसंख्यालाई बैकिङ प्रणालीभित्र ल्याउन सकिएको छैन । उनीहरुलाई डिजिटल बैकिङ सिकाउने, एपहरु डाउनलोड गर्न सिकाउने काम बाँकी नै छ । यी सबै काम गर्नको लागि पनि बैंकहरु गाउँका दुरदराजमा पुग्नैपर्छ । अझै पनि मानिसहरुलाई बैंकबाट कारोबार गर्नुपर्छ, साहुमहाजनसँग होइन भनेर सिकाउनु पर्ने अवस्था छ । यी सबै काम गर्न अझै १० वर्ष लाग्ला । त्यसैले अहिले नै बैंकको शाखा, एटीएम जरुरी छैन भन्न मिल्दैन ।

लकडाउनको अवधिमा बैंकका कुन कुन सेवा खुलेका छन् ?

वर्क फर्म होमको कल्चर छ । घरबाट बसेर सबैले काम गरिरहेका छौं । हामीसँग क्राइसिस् म्यानेजमेन्ट टिम पनि छ । २०७२ सालको भूकम्पपछि हामीले संकटको बेलामा कसरी बैकिङ सेवा सुचारु गर्ने भनेर एउटा टिम बनाएका थियौं । त्यो टिमले अहिले प्रभावकारी रुपमा काम गरिरहेको छ । हामीले क्राइसिस् म्यानेजमेन्ट पोलिसी बनाएका छौं । नयाँ कर्जा प्रवाह बन्द भएको छ । किनभने कर्जा दिन बिजनेश हेर्न जानुपर्छ । धितो हेर्न, मूल्याङ्कन गर्न जानुपर्छ । तर अत्यावश्यक वस्तुको आयात गर्न हामीले एलसी खोलिरहेका छौं । धेरै ठाउँमा टेलर कारोबारहरु चलिरहेको छ । शाखामा आउनेहरुलाई सेवा बन्द छ भनेर फर्काएका छैनौं । ट्रेजरीको काम पनि घरबाट गरिरहेका छौ । आईटीको काम घरबाटै भईरहेको छ ।

बैंकको आफ्नै अपरेटिङ सिस्टम हुन्छ । घरमा बसेर काम गर्नेको लागि अपरेटिङ सिस्टममा पहुँच कसरी हुन्छ ?

जसले कोर बैकिङ सिस्टम प्रयोग गर्नुपर्ने हुन्छ, ऊ अफिसमा नै जानुपर्छ । ट्रेलर ट्रान्जेक्सन गर्न बैंकमा नै जानुपर्छ । एलसी खोल्ने कामको लागि अफिसमा जानै पर्छ । तर अहिले एलसी खोल्न आउने ग्राहकको कमी भएकोले एलसी डिपार्टमेन्टका कर्मचारी पालैपालो थौरै जनाले काम गर्ने व्यवस्था गरेका छौं । शाखा खोल्दा पनि बढीमा तीन जना मात्र बोलाएर काम गरेका छौं । कर्मचारीबीच पनि सोसिएल डिस्टेन्स मेन्टेन गरेका छौं । रेमिट्यान्समा पनि १/२ जना मात्र कर्मचारी परिचालन गरेका छौं । चेक क्लियरिङको काम पनि पुरै भएको छ ।

नोटबाट कोरोना संक्रमणको जोखिम बढी हुने बताइएको छ । सबैभन्दा बढी नोट चलाउनु पर्ने बैंकहरुले हो । यस्तो बेलामा कर्मचारीको सुरक्षा कसरी गर्नु भएको छ ?

भल्टबाट पैसा निकाल्नुपूर्व हामी स्प्रे गछौं ताकी कुनै पनि किसिमको भाइरस संक्रमणको जोखिम नहोस् । दोस्रो, सबै कमचारीलाई पञ्जा अनिवार्य गरेका छौं । सबै कर्मचारीलाई मास्क उपलब्ध गराएका छौं । हरेक टेलरको अगाडि स्यानिटाईजर राखेका छौं । ग्राहक-ग्राहकबीच र कर्मचारी-ग्राहकबीचको निश्चित दुरी कायम गरेका छौं । एक त बैंकका कर्मचारी आफैमा सचेत हुन्छन् । दोस्रो बैंकले पनि उनीहरुलाई पटक पटक सचेत गराएकाे छ। हामीले आन्तरिक रुपमा सुरक्षा विधिबारे सर्कुलर जारी गरेका छौं । हामीले हाम्रो स्टाफको पूर्ण ख्याल गरेका छौं । अहिलेसम्म हाम्रा कुनै पनि कर्मचारी बिरामी भएको रिपोर्ट आएको छैन ।

पन्जा लगाएर नोट कसरी गन्ने ?

ठूलो कारोबारमा तपाईले भनेको जस्तो समस्या हुन्छ । तर अहिले त्यस्तो ठूलो कारोबार नै भएको छैन । पातलो खालको पन्जा लगाउँदा नोट गन्न पनि धेरै गाह्रो हुन्न । लकडाउन अवधिका कुनै पनि शाखाबाट ५० वटा भन्दा बढी कारोबार नै भएको छैन । कति शाखा दिनभर खुल्दा १/२ वटा मात्र कारोबार भएको पाइएको छ ।

कोरोना महामारीसँगै एयरलाईन्स, पर्यटक स्तरीय होटल लगायत पर्यटन क्षेत्रमा गरिएको लगानी बढी जोखिममा परेको देखिन्छ । माछापुच्छ्रे बैंकले यो क्षेत्रमा कति लगानी गरेको छ ?

यस क्षेत्रमा हाम्रो धेरै लगानी छैन । एयरलाइन्समा हाम्रो लगानी शुन्य छ । होटलमा करिव २ अर्ब रुपैयाँ लगानी छ । अन्य पयर्टन क्षेत्रमा अर्ब लगानी छ ।

पयर्टन क्षेत्रमा गरिएको लगानी उठ्ला वा बालुवामा पोखिएको पानी जस्तो होला ?

लगानी डुब्दैन । पर्यटन क्षेत्र धेरै सम्भावना बोकेको क्षेत्र हो । सरकार, निजी क्षेत्र सबैको प्राथमिकताको क्षेत्र हो । दुर्भाग्य २०२० शुरु हुने बित्तीकै कोरोना महामारी भयो । केही महिना लागेपनि कोरोना महामारी नियन्त्रण हुन्छ नै । त्यसपछि त यो क्षेत्रले फेरी पिकअप लिइहाल्छ ।

बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे भूमिकामा तपाईं नयाँ मान्छे । तपाईंबाट स्टेकहोल्डरले के अपेक्षा गर्ने ? बजारले के अपेक्षा गर्ने ?

बैंकको सीईओको भूमिका भनेको सबैभन्दा पहिला सर्बसाधारण बचतकर्ताको पैसाको सुरक्षा गर्नु हो । नियामकको नीति निर्देशनको पालना गर्नु हो । बैंकलाई विश्वसनीय रुपमा बैंकलाई चलाउनु हो । दोस्रो, हाम्रा स्रोत साधानको अधिकतम प्रयोग गरेर सेयरधनीलाई उच्चतम प्रतिफल दिनु हो ।

लगानीकर्ताले पाउने प्रतिफल कतिसम्म घट्ला ?

आजको अवस्थामा भन्न सकिदैन । गत वर्ष हामीले १६/१७ प्रतिशत रिटर्न दिएका छौं । हाम्रो प्रयास १८/२० प्रतिशत लाभांश दिन हुनेछ । तर अहिले अवस्था सामान्य छैन । कोरोना महामारीले कति ठूलो असर पार्छ भन्ने अनुमान गर्न कठिन भएको बेलामा बैंकले गर्ने नाफा र सेयरधनीले पाउने लाभांशको बारेमा क्यालकुलेशन गर्न मिल्दैन ।

यसअघि यस बैंकका दुई वटा सीईओहरुले आफ्नो करार अवधि नसकिँदै राजीनामा दिनु भयो । आफ्नो कार्यकाल पूरा गर्नेमा तपाई कति विश्वस्त हुनुहुन्छ ?

२०७७ बैशाख १ गतेदेखि मेरो कार्यकाल शुरु हुन्छ । म मेरो कार्यकालमा पूरा काम गर्छु । म १०० प्रतिशत समय र इफोर्ट बैंकलाई दिन्छु । समग्रमा विश्लेषण गर्दा हामी अहिले पनि राम्रो पोजिशनमा छौं । कम्प्लान्सको मामलामा, इएमएल/सीएफटीको मामलामा, कस्टुमर सर्भिसको मामलामा, डिजिटाइजेशनको मामलामा, नेटवर्कको मामलामा, रिर्टनको मामलामा हामीले राम्रो गरिरहेका छौं । मलाई बैंकले जुन जिम्मेवारी दिएको छ त्यसलाई म कार्यान्वयन गर्न सक्छु भन्ने मलाई विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.