
काठमाडौं । लकडाउनले गर्दा पुँजी बजारमा सर्बसाधारणको करिब १५ अर्ब रुपैयाँ भन्दा बढी रकम चलाउन नमिल्ने गरी ब्लक भएकाे छ । कोरोना संक्रमण महामारीसँगै आर्थिक संकट भएको ठूलो रकम चलाउन नमिल्ने गरी बैंकमा ब्लक भएपछि लगानीकर्तालाई अप्ठ्यारो परेको छ ।
चैन १४ गते बाँडफाँड गर्ने भनिएको पुर्नबीमा कम्पनीको साधारण सेयरको बाँडफाँड अब बैशाखमा मात्र हुने भएको छ । २५ गतेसम्म सरकारले लकडाउन गरेकोले सेयर बाँडफाँड ढिला हुने निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले बताए ।
१४ गते नै सेयर बाँडफाँड गर्ने योजना भएको तर सरकारले ११ गतेदेखि लकडाउन गरेपछि बाँडफाँडको पूर्व तयारीका काम नै बाँकी रहेको उनले बताए ।
सेयरको लागि अनलाइनबाट आएका आवेदनमा पनि दोहोरो हुन सक्ने, अयोग्य आवेदनहरुलाई हटाउनु पर्ने, बैंकहरुले दिएको डाटाहरु फेरीफाइड गर्नुपर्ने, सीडीसी डाटा प्रोफेशनल कम्पयूटर सिस्टममा राख्नु पर्ने लगायतको प्रक्रिया पुरा हुन अझै ५/६ दिन लाग्ने प्याकुरेलले बताए । २५ गतेसम्म लकडाउन भएकोले अब सेयर बाँडफाँड गर्दा वैशाख लाग्न सक्ने उनले बताए ।
एक अर्ब ६० करोड रुपैयाँको सेयर निष्काशन गर्दा ५ अर्ब ५७ करोड रुपैयाँको आवेदन परेको छ । आवश्यक भन्दा ३ अर्ब ९७ करोड बढी रकम लगानीकर्तालाई फिर्ता गर्नुपर्ने हुन्छ । उक्त रकम अहिले कसैले पनि चलाउन पाएकाे छैनन् ।
पुर्नबीमा कम्पनीको जस्तै, सिटिजन्स बैंक इन्टरनेशन, नविल बैंक, गुडविल फाइनान्सको डिबेन्चर पनि बाँडफाँड भएको छैन । बैंकहरुको डिबेन्चरमा निष्काशित रकम भन्दा धेरै बढी माग नभए पनि गुडविल फाइनान्सको डिबेन्चरमा माग भन्दा झण्डै तीन गुणा आवेदन परेको छ । गुडविलले २५ कराेड रूपैयाँकाे डिवेच्चर जारी गरेकाे छ ।
‘लकडाउनको बेलामा फाइनान्स त खुला छ । हामी काम गर्न पनि तयार छौं । तर मर्चेन्ट बैंकर्सहरु बन्द छन् । त्यसैले डिबेन्चर बाँडफाँड रोकिएको छ’ गुडविल फाइनान्समा प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले भने–‘डिबेन्चर बाँडफाँड नहुँदा हामीलाई पनि घाटा भएको छ, लगानीकर्ताले पनि पैसा चलाउन पाएका छैनन् ।’ डिबेन्चर बाँडफाँड नहुदासम्म लगानीकर्ताको पैसा फाइनान्सको खातामा पनि नआउने र लगानीकर्ताले आफ्नौ पैसा पनि चलाउन नपाउने गरि ब्लक भएर बस्ने नियम रहेको उनले बताए ।
सिजिटन्स बैंक इन्टरनेशन लिमिटेडको ऋणपत्र पनि बाँडफाँड भएको छैन । ‘निष्काशन भएको ऋणपत्र सबै माग भएको छ । तर बाँडफाँड हुन बाँकी छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखेरेलले भने–‘लकडाउन खुलेलगत्तै बाँडफाँड हुनेछ । यस बैंकले २ अर्ब ५० कराेड रूपैयाँकाे ऋणपत्र निष्काशन गरेकाे थियाे ।
नबिल बैंकले २ अर्ब रूपैयाँकाे ऋणपत्र निष्काशन गरेकाे थियाे । जसकाे आवेदन समय चैत १६ गते सकिएकाे छ । तर यसकाे पनि बाँडफाँड भएकाे छैन । सबै संस्थामा गरी करिब १२ अर्ब रूपैयाँकाे धिताेपत्र आवेदन भएकाेमा लकडाउनकाे कारण बाँडफाँड हुन सकेकाे छैन ।
डिबेच्चर बाँडफाँड नभएसम्म बैंकहरूले लगानीकर्ताकाे पैसा पनि लिन नमिल्ने र लगानीकर्ताले पनि बाँडफाँड भएकाे मितिदेखि मात्र व्याज पाउने व्यवस्था रहेकाे नेपाल धिताेपत्र बाेर्डका कार्यकारी निर्देशक एवं प्रबक्ता निरज गिरीले बताए । साधारण सेयर आवेदनका साथ लगानी भएकाे रकम पनि बाँडफाँड हुनुपूर्ब लगानीकर्ताकाे खातामा लक भएर बस्ने, बाँडफाँड भएपछि मात्र सेयर निष्काशन गर्ने कम्पनीकाे खातामा जाने उनले बताए ।