काठमाडाैं । सरकारले उपत्यकाका विभिन्न ठाउँमा रहेका १८ वटा पेट्राेल पम्पलाई हटाउने निर्णय गरेकाे छ । सडकको मूल संरचनासँगै जोडेर बनाइएका पेट्रोल पम्पहरू सरकारले हटाउने निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषदको पुस १५ गतेको निर्णयअनुसार गृह मन्त्रालयले ती पेट्रोल पम्पहरू हटाउनका लागि प्रक्रिया थालेकाे छ । यसकाे काम अगाडि बढाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको जनाइएकाे छ ।
पहिलो चरणमा कलंकीदेखि चापागाउँसम्मका १८ वटा पेट्रोल पम्प स्थान्तरण गराउने निर्णय सरकारले गरेको थियाे । मूल सडक नै छेक्ने गरी निर्माण भएका ती पेट्रोल पम्पका कारण सडक जाम बढेको र जोखिम पनि बढेको निष्कर्षसहित सरकारले सो निर्णय लिएको हो ।
सरकारको निर्णयअनुसार स्थानान्तरण गराउन लागिएका पेट्रोल पम्पहरू महाराजगञ्जको सीता, गैरीगाउँको भ्याली रिकेश, कोटेश्वरको कामाख्या, बौद्धका जुबी र बराल, जाउलाखेलको साझा, एचपी इन्टरनेसनल तथा चापागाउँका बज्रबाराही, बालकुमारी पेट्रोल पम्प र टिका भैरव डिजेल स्टोर रहेका छन् ।
यस्तै, कलंकीको बाबा, श्यामा र त्रिशुल पेट्रोल पम्प, बालाजुको कोतःधुकु, कालीमाटीको कनक, थापाथलीको जयन्ती र मायाराम भोलाराम पेट्रोल पम्पलाई पनि स्थानान्तरण गराउने निर्णय भएको छ ।