
काठमाडौं । स्याङ्जाको वालिङ स्थित कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मा स्थित जनसेवी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने गाभिनको लागि राष्ट्र बैंकमा बुझाएको अन्तिम सम्झौतामा अन्तिम स्वीकृती दिएको छ । कालिका लघुवित्त वित्तीय संस्थाले जनसेवी लघुवित्त वित्तीय संस्थालाई गाभे पश्चात संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने गरि राष्ट्र बैंकले स्वीकृती दिएको हो ।
मर्ज पश्चात संस्थाको अध्यक्षता साविक जनसेवी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विकास गौचन हुने छन् भने पहिलो साधारण सभाबाट अध्यक्षको जिम्मेवारी कालिका लघुवित्त वित्तीय संस्थाका अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ । पोखरा महानगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहने भएको नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कालिका लघुवित्त वित्तीय संस्था लि. का हालका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरालाई दिने सहमति भएको छ ।
अन्तिम सहमति पश्चात एक महिना भित्र एकिकृत कारोवार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । संस्थागत रुपमा कालिका लघुवित्तको प्रवन्धपत्र तथा नियमावलीमा अधिकृत पुँजी ५० करोड, जारी पुँजी १० करोड ८० लाख तथा चुक्ता पुँजी १० करोड ८० लाख रहको र जनसेवी लघुवित्तको अधिकृत पुँजी ३० करोड जारी पुँजी १४ करोड ४३ लाख ३० हजार र चुक्ता पुँजी पनि १४ करोड ४३ लाख ३० हजार रहेकोमा गाभिए पछि बन्ने संस्थाको कुल अधिकृत पुँजी ५० करोड जारी तथा चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ बराबर हुनेछ ।
दुबै संस्थाको गरि हाल कुल ९६ वटा शाखा कार्यालयमा करिब ४ सय कर्मचारीहरुबाट ५७ हजार ५ सय सक्रिय सदस्यहरुलाई सेवा दिइरहेका छन् भने ३१ हजार ऋणी सदस्यहरु रहेका छन् । दुबै संस्थाले सदस्यहरुबाट ९८ करोड ५३ लाख बचत संकलन तथा बैंक वित्तीय संस्थाहरुबाट १ अर्ब २० करोड कर्जा लिई कुल २ अर्ब ४८ करोड रुपैंया सदस्यहरुलाई लगानी गरिरहेको छ ।
हाल दुबै संस्थाले २६ वटा जिल्ला मार्फत सेवा पुर्याइ रहेकोमा यसै आर्थिक वर्ष भित्रमा लघुवित्त सेवाको पहुँच नपुगेका जिल्लाहरुमा थप ३० वटा शाखा विस्तागरि सेवा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी दिए ।
विकास गौचन सहित मर्जर पश्चातको सञ्चालक समितिमा कृष्ण खाँण, मेघनाथ सुवेदी, सन्तोष श्रेष्ठ, शान्ता कुमारी उप्रेती, विश्वराज नेपाल र स्वतन्त्र तथा विशेषज्ञ सञ्चालकमा सि.ए. अनुराग वाग्ले रहने भएको छ ।