काठमाडौं । सनराइज बैंकले जारी गरेको “१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३” डिबेन्चर(ऋणपत्र)को शुक्रबार बाँडफाँड भएको छ । बैंकले कात्तिक २० गतेदेखि मंसिर १९ गतेसम्म बिक्री खुला गरेको ऋणपत्र मंसिर २७ गते बाँडफाँड गरेको हो ।
बैंकले जारी गरेको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा रितपूर्वक आवेदन दिने आवेदकहरूलाई बाँडफाँड गरिएकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत १००० रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।
सात वर्षे भुक्तानीअवधि रहेको यस ऋणपत्रमा लगानीकर्ताले अर्धवार्षिक रुपमा १०.२५ प्रतिशत ब्याज पाउने छन् । जुन ऋणपत्र बाँडफाँड भएको दिन अर्थात मंसिर २७ गतेदेखि नै लागू हुने बैंकले जनाएको छ । निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भई डिबेन्चरधनीहरुले डिबेन्चरको खरिद बिक्री गर्न सक्नेछन् ।
कूल ३० लाख युनिट मध्ये बैंकले १२ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको थियो भने बाँकी १८ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरेको थियो ।