
काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल चैत ५ गतेदेखि सकिँदैछ । तर साढे चार महिना पछि रिक्त हुने गभर्नर नेपालकाे उत्तराधिकारीका लागि दौडधूप शुरु भएको भइसकेको छ । गभर्नर पदका आकांक्षीहरू अर्थमन्त्री र प्रधानमन्त्रीको निकट हुन च्यानल मिलाउँदै शक्ति केन्द्र धाउन थालेका छन् ।
गभर्नर बन्न राष्ट्र बैंकका दुबै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले स्वभाविक कसरत गरिरहेका छन् । हाल सिनियर डेपुटी रहेका शिवाकोटी तत्कालिन एमालेको र श्रेष्ठ नेपाली काँग्रेसको कोटामा डेपुटी गभर्नर नियुक्त भएका थिए ।
प्रधानमन्त्रीको नजिक रहेको मानिने शिवाकोटी आफू सिनियर भएकोले गभर्नरमा छनोट हुने विश्वासमा छन् । श्रेष्ठ पनि कम्यूनिष्ट सरकार नै भएकाे बेलामा डेपुटी गभर्नर बन्न सफल भएकाेले फेरि पनि गभर्नर बन्नेमा विश्वस्त छन् । शिवाकोटी २०४४ साल चैत ७ गते राष्ट्र बैंक प्रवेश गरेका हुन् भने श्रेष्ठ २०४६ साल माघ ८ गते राष्ट्र बैंक प्रवेश गरेका हुन् ।
गभर्नरको बलिया दावेदारकाे रूपमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाइ पनि लिइन्छ । अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडा र प्रमको समेत रुचाइएका पात्र हुन् । खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । खतिवडालाई सफल गभर्नर बनाउने बलियाे हात अधिकारी नै भएकाे बताइन्छ । डेपुटी गभर्नरबाट अवकास पाएपछि अधिकारीलाई ओली नेतृत्वकाे सरकारले लगानी बोर्डको सीईओमा नियुक्त गरेकाे थियाे ।
गभर्नरको दौडमा रहेका अर्का शसक्त दावेदार हुन राष्ट्र बैंकबाट जेठमा अवकास पाएका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र यस अघि अवकास प्राप्त भाष्करमणि ज्ञवाली रहेका छन् । २०४६ साल जेठ २५ गते राष्ट्र बैंक प्रवेश गरेका भिष्मराज ढुंगाना २०७६ जेठ २४ गते कार्यकारी निर्देशकबाट अवकास पाएका हुन् ।
ढुंगाना राष्ट्र बैंकको अवकासपछि धितोपत्र बोर्डका संचालक समिति विज्ञ सदस्यमा नियुक्त भएका छन् । धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने प्रयोजनले ढुंगानालार्ई बोर्डमा विज्ञ सदस्यको रुपमा नियुक्त गरेपनि उनका लागि सो पद भने दोस्रो रोजाइमा परेको छ । उनको पहिलो रोजाइ राष्ट्र बैंकको गभर्नर नै हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकट सम्बन्ध रहेकाेले ढुंगानालाई बलियाे दावेदार मानिन्छ ।
राष्ट्र बैंकको गभर्नर पदका लागि अर्को दावेदार रहेका छन् बासुदेव अधिकारी । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका उनी अहिले नेपाल बैंकको अध्यक्ष पदमा रहेका छन् । इमान्दार र छिटाे निर्णय लिन सक्ने क्षमता भएकाे र प्रगतिशिल साहित्यमा निरन्तर लागेकाेले उनलाई नेकपा र अर्थमन्त्री डा. खतिवडा सहयाेग मिल्न सक्छ ।
त्यस्तै अर्को दावेदारको रुपमा हाल राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठले नेपाल बैंकमा ३० वर्ष सेवा पुरा गरेपछि आरबीबीको सीईओ बनेका हुन् । २०४३ सालमा आरबीबी प्रवेश गरेका श्रेष्ठ महाप्रबन्धकको जिम्मेवारीबाट अवकाश पाएका सफल बैंकर हुन् ।
राष्ट्र बैंकको गभर्नर छनोटमा अर्थमन्त्रीको विशेष भुमिका हुने भएपनि प्रधानमन्त्रीको इच्छ्याएको व्यक्ति नै गभर्नर बन्ने परम्परा छ । यस अघि डा. नेपाल छनोट प्रक्रियामा पनि यस्तै भएको थियो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले डा. रामशरण महतले ल्याएका तीन नामलाई लत्याएर चिरञ्जीबि नेपालको नाम थपेर ल्याउन भनेका थिए, पछि मन्त्रिपरिषद्ले नेपाललाई नै गभर्नरको रुपमा नियुक्त गरेको थियो ।
अहिले नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । अर्थमन्त्री डा.युवराज खतिवडा र प्रधानमन्त्री केपी ओली दुबै एउटै छाताभित्र रहेपनि गभर्नर बन्नको लागि प्रमसँगको पहुँच बलियो हुन्छ ।