
काठमाडौं । शेयरको कारोबार र राफसाफमा लाग्दै आएको शुल्क घटाउन नेपाल धितोपत्र बोर्डले प्रक्रिया अघि बढाएको छ । बोर्डले सोमबार शुल्क पुनरावलोकन र संस्थागत सामाजिक उत्तरदायित्वका सम्बन्धमा अध्ययन गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा चार सदस्यीय तथा तथा म्युचुअल फण्ड, सीडीएससी, डीपी लगायतका कार्यहरु व्यवस्थित गर्ने ट्रष्टी ऐनसम्बन्धि कार्य अघि बढाउन नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्को पाँच सदस्यीय समिति गठन गरेको हो ।
बोर्डले अर्थ मन्त्रालयले गठन गरेको पुँजीबजार र मुद्राबजारसम्बन्धी अध्ययन गर्न गठित समितिले दिएको सुझाव अनुसार शुल्क पुनरावलोकन र संस्थागत सामाजिक उत्तरदायित्वका सम्बन्धमा अध्ययन गर्न तथा ट्रष्टी ऐनसम्बन्धि कार्य अघि बढाउन छुट्टाछुट्टै समिति गठन गरेकाे हाे ।
अर्थ मन्त्रालयले गठन गरेको समितिले अघिल्लो वर्ष नै दिएको सुझावमा अनलाइन कारोबार सञ्चालन भइसकेको र स्वचालित कारोबार प्रणालीलाई नेप्से र सीडीएससीको सिस्टममा आवद्ध गरी सञ्चालनमा ल्याउने र सोपश्चात् धितोपत्र व्यवसायीले लिने शुल्कमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको थियो । बोर्डले हाल स्वचालित कारोबार प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आएको र लगानीकर्ताहरुले शुल्क घटाउनुपर्ने माग गर्दै आएको सम्बन्धमा सुझाव दिन समिति गठन गरिएको उल्लेख गरिएको छ ।
बोर्डले सो समितिले कारोबार र राफसाफको शुल्क मात्रै नभएर सूचीकृत कम्पनीहरुसँग नेप्से र सीडीएससीले लिँदै आएको शुल्कका सम्बन्धमा पुनर्विचार गर्ने जनाएको छ । बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले समितिले धितोपत्र बजारमा लाग्दै आएका सबै प्रकारका शुल्कहरुबारे अध्ययन गर्ने जानकारी दिए । अर्थमन्त्री युवराज खतिवडाले पनि केही दिन अघि मात्रै कारोबार र राफसाफमा लाग्दै आएको शुल्क घटाएर बजारलाई उच्च स्रोत प्रवाह गर्न सहयोग गर्नुपर्ने बताएका थिए ।