काठमाडौं । बैकिङ क्षेत्रमा निक्षेपको चरम अभाव भएको बेलामा नबिल इन्भेष्टमेन्ट लिमिटेडले निक्षेपकर्तालाई १० दशमलव १० प्रतिशत प्रतिफल दिने नयाँ याेजना ल्याएकाे छ । मुद्दति खाताका बचतकर्तालाई जस्तै लगानीकर्तालाई हरेक तीन महिनामा प्रतिफल भुक्तानी गरिने नबिल इन्भेष्टमेन्टले जनाएको छ ।
बैकिङ क्षेत्रको लिडर बैंकको रुपमा परिचित नबिल बैंकको सहायक कम्पनीले ल्याएकाे नयाँ स्कीमले बैंकहरुलाई ब्याज बढाउन दवाव पर्ने जानकारहरु बताउँछन् । नेपाल बैंकर्स संघको निर्णयका आधारमा वाणिज्य बैंकहरुले ९.७५ प्रतिशत वा सोभन्दा कम ब्याजदरमा निक्षेप संकलन गर्दै आएको समयमा नबिलले १०.१० प्रतिशत प्रतिफल दिने निक्षेप प्रकृतिकाे याेजना ल्याएकाे हाे ।
‘फिक्स रिर्टन’ नाम दिइएको उक्त स्कीम सात दिन मात्रा चल्ने नबिलले जनाएको छ । तर उक्त सेवाको बारेमा जानकारी दिंदै अनिश तन्डुकारले विकासन्युजसँग भने-‘तपाई पैसा व्यवस्थापन गर्न समय लाग्छ भने दशैंपछि पनि आउन सक्नुहुन्छ ।’ यस्तो स्कीमको रिर्टनदर घटबढ भईरहने उनले बताए ।
बैंकमा मुद्दति निक्षेपको ब्याज १० प्रतिशतभन्दा कम भएको समयमा मर्चेन्ट बैकर्सले १० प्रतिशतभन्दा बढी प्रतिफल दिनुले यसभित्र जोखिमको गन्ध आउँछ । ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ अन्तरगत दिने यो सेवाको विशेषता वाणिज्य बैंकको मुद्दति बचतको जस्तै हुने र पूर्ण सुरक्षित हुने तण्डुकारले बताए ।

‘लिखित डकुमेन्ट हुन्छ । लगानीकर्ताको नाम, लगानी भएको रकम, ब्याज र मुद्दति परिपक्व हुने अवधि तोकेर सर्टिभिकेट दिन्छौं । सावाँ ब्याज दुबै ग्यारेन्टी गरिएको हुन्छ’ उनले भने-‘मुद्दति निक्षेपमा झै यस सर्टिफिकेट धितो राखेर कर्जा लिने भने पाइने छैन ।’
‘नबिल इन्भेष्टमन्टले शुरुमा पनि यसरी स्रोत परिचालन गरेको थियो । त्यतिबेला प्रतिफल दर पनि कम थियो र कम प्रभावकारी भयो । अहिले बैंकले दिने व्याजदर भन्दा बढी प्रस्ताव गरेको छौं’ तण्डुकारले भने ।
पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस अन्तरगतकाे याे याेजना झट्ट हेर्दा निक्षेप जस्ताे भएपनि याे मुद्दति निक्षेप नभइ लगानी नै भएकाे नबिल इन्भेन्टमेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बाधे श्रेष्ठले बताए ।
पोर्टफोलियो म्यानेजमेन्ट गर्नेले स्रोतको निश्चित प्रतिशत बैंकको मुद्दतिमा राख्न पाउने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ अन्तरगत मर्चेन्ट बैंकर्सले यसरी बजारबाट पैसा संकलन गर्न पाउने उनको भनाई छ ।