
काठमाडौँ । राष्ट्रिय गौरवका २२ आयोजनामा हालसम्म २ खर्ब ८३ अर्ब ८६ करोड खर्च भएको छ । कूल लागत १८ खर्ब १० अर्ब ६८ करोड भएका आयोजनामा हालसम्मको २ खर्ब ८३ अर्ब मात्र खर्च भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय योजना आयोगद्वारा आइतबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४६ औँ बैठकमा आव २०७५/७६सम्मको कूल खर्च प्रस्तुत गरिएको हो ।
आव २०७५/७६सम्मको भौतिक प्रगतितर्फ राष्ट्रिय गौरवका आयोजना मध्ये पुष्पलाल मध्यपहाडी लोकमार्गको ४८ प्रतिशत, रेल्वे तथा मेट्रो विकास आयोजनाको १९.४ प्रतिशत, हुलाकी लोकमार्गको ४४ प्रतिशत, उत्तर दक्षिण(कोशी करिडोर) लोकमार्गको १५ प्रतिशत, उत्तर दक्षिण(कालिगण्डकी करिडोर) लोकमार्गको २७ प्रतिशत देखिएको छ ।
त्यसैगरी, काठमाडौँ-तराई/मधेस द्रुतमार्गको ८.५ प्रतिशत, गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थलको ७४ प्रतिशत, पोखरा क्षेत्रीय विमानस्थलको ४२ प्रतिशत, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको १० प्रतिशत र लुम्बिनी विकास कोषको ८२ प्रतिशत भौतिक प्रगति देखिएको छ ।
यता, बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पहिलो चरणको भौतिक प्रगति १५.१२ प्रतिशत, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १२.१९ प्रतिशत, सिक्टा सिचाई आयोजनाको ८०.७ प्रतिशत, बबई सिचाई आयोजनाको ४६.४ प्रतिशत, रानीजमरा कुलरिया आयोजनाको ४३ प्रतिशत र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ३८.४ प्रतिशत भौतिक प्रगति भएको योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति ९९.३ प्रतिशत भएको छ । आयोगले प्रस्तुत गरेको विवरणमा बुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेति जलविद्युत आयोजना, विद्युत प्रशारण आयोजना र पशुपति क्षेत्र विकास कोषको भौतिक प्रगति भने उल्लेख छैन ।