
काठमाडौँ । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला शुरु भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा शुरु भएको मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।
मेला उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पुर्याउने बताए ।
चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ ।
एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले बताए ।
विगत वर्षका मेला अधिक रुचाइए पछि यसवर्ष पनि मेलालाई निरन्तरता दिइएको हो । मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ । यस पटकको मेलामा विभिन्न किसिमकाबम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।
मेलामा जुत्ता तथा चप्पल उद्यमी समूह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दाबढी मोडलका जुत्तातथाचप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।
रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समूहले निरन्तर सहभागिता जनाउने छ ।
मेलामा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् ।