काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जर्मनीको वित्तीय संस्था डोइचे स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक साझेदारी गरेको छ ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डोइचे स्पार्कासेनस्टिफ्टुङको एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन् । यो सहकार्य जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रमअन्तर्गत भएको बैंकले जनाएको छ ।
सम्झौताअनुसार बैंकमा दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त, न्यून कार्बन उत्सर्जन तथा दिगो उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन् । यसका लागि संस्थाले ईएसजी रिस्क राडार र सस्टेनेबल फाइनान्स कम्पास लगायतका प्राविधिक प्रणाली उपलब्ध गराउनेछ ।
त्यस्तै, ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यम (एसएमई) को क्षमता अभिवृद्धिका लागि डिस्क बिजनेस गेम समेत सञ्चालन गरिने बैंकले जनाएको छ ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो सम्झौताले बैंकलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार आफ्ना बैंकिङ प्रणालीलाई अझ परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार साझेदारीमार्फत हरित वित्त र दिगो आर्थिक विकासलाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।
हाल कुमारी बैंकले देशभर २८६ शाखा, ३०३ एटीएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाइ तथा १,१०० भन्दा बढी पीओएस टर्मिनलमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले यो सहकार्यले नेपालमा दिगो वित्तीय प्रणालीको विकास र हरित अर्थतन्त्र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।