काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ ।
उक्त बैंकको वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक देखिएको छ । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रु ४ अर्ब १५ करोडले वृद्धि गरी रु ९ अर्ब ५१ करोड आर्जन गर्न सफल भएको छ । सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् रु.२ अर्ब ७५ करोडले वृद्धि भई रु.६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालन मुनाफामा वार्षिक विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् रु.२ अर्ब ६६ करोडले वृद्धि गरी रु.४ अर्ब ५८ करोड आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १२९ प्रतिशत अर्थात् रु. १ अर्ब ७२ करोडको वृद्धि सहित रु. ३ अर्ब ५ करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. १ अर्ब ३३ करोड रहेको थियो ।
बैंकलेसमीक्षा आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् रु. ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार रु. २१७ अर्ब ७० करोड पुर्याउन सफल भएको छ । जस अन्तर्गत कुल कर्जातर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २५ प्रतिशत अर्थात् रु. २९ अर्ब ५४ करोडको वृद्धिसहित रु. १५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत अर्थात् रु. २९ अर्ब ३६ करोडको वृद्धिसहित रु.१८० अर्ब ५८ करोड पुर्याउन सफल भएको छ ।
बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई रु. ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम वित्तीय विवरणमा उल्लेख छ ।