काठमाडौं । बैंकर्सहरूले बैंक तथा वित्तीय संस्थालाई बलपूर्वक मर्जरमा नलैजान सल्लाह दिएका छन् । राष्ट्र बैंकले सोमबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रममा नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बलपूर्वक मर्जरमा नलैजाने सुुझाव दिएका हुन् । यदि मर्जरको आवश्यकता हो भने राष्ट्र बैंकले प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याउनु पर्छ, उनले भने– ‘बलपूर्वक मर्जरको नीति लिन नपरोस् ।’
सुझाव संकलन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले बैंकहरूलाई बलपूर्वक मर्जरमा लान नहुने बताए । बैंकहरूबीच विहे गराउने विषयलाई अग्रवालले मर्जर विवाह भन्दापनि संवेदनशील भएको बताए । मर्जर भनेको आत्मा शरीर दुबै एक हुने हो, उनले भने– ‘ यस्तो संवेदनशील विषयलाई बलपूर्वक मर्जरमा लानु हुँदैन ।’ फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले मर्जर स्वतफूर्त हुुनुपर्ने धारण राखे ।
नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले राष्ट्र बैंकले सहुलियत दिए लघुवित्तलाई पनि मर्जर गरेर ५० वटामा झार्न सक्ने बताए । हाल नेपालमा एक सय वटा लघुवित्त छन्, यसलाई आधामा झार्न सकिन्छ। उनले भने– ‘राम्रो सेवा, सुविधा र प्रोत्साहन पाए हामी ३०-३५ वटामा पनि झर्न सक्छौं ।’
राष्ट्र बैंकले मौद्रिक नीतिसम्बन्धि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निक्षेप तथा कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ३ प्रतिशतमा झार्न सुझाएकी छिन् । अहिले बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर अन्तर साढे चार प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरिएको छ । महासंघले यसअघि नै मौद्रिक नीतिका लागि २१ बुँदे सुझाव दिइसकेको छ ।
वित्तीय बजारमा लगानी योग्य पुँजी नहुँदा यसको चाप ब्याजदर परेको बताउँदै बैंकर्स संघका अध्यक्ष ढुंगाना भने– ‘आगामी वर्षमा ब्याजदरका लागि सहमति र सम्झौता गर्न नपरोस् ।’ खुला अर्थको विशेषताअनुसार ब्याजदर बजार निर्देशित होस् । भरसक ब्याजदर एकल अंकमा ल्याउने हाम्रो पनि चाहना हो ।’
कार्यक्रममा चेम्बरका उपाध्यक्ष अग्रवालले कर्जाको ब्याजदर ७ देखि ९ प्रतिशतमा राख्नुपर्ने बताए । कर्जामा कार्टेलिङ गर्दै आएका बैंकहरूलाई ब्याज सस्तो बनाउन राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । पुनरकर्जा कोष १ खर्बको बनाउनु पर्नेमा पनि अग्रवालले जोड दिए ।
सुझाव संकलन कार्यक्रममा बैंक अफ काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले मर्जर बजारमा तरंग ल्याएको बताए । मर्जरले बैंकलाई सुदृढीकरण गर्ने बताउँदै उनले भने ‘अब पश्चाताप नगर्ने गरी तथा पछि पछुताउनु नपर्ने गरी कार्य सम्पादन गर्नुपर्ने बताए । यसअघिको मर्जरमा हकप्रद सेयर निष्कासन गर्न नपाउने व्यवस्था गरिएको भए अहिले फेरि यो कदम चाल्नु पर्ने अवस्था आउन थिएन, उनले भने- ‘मर्जरमै जानुपर्ने भए लाइसेन्स किन दिएको त ?’