
काठमाडौ । बाणिज्य बैंकहरुबीच मर्जरको विषयले बजार तातिरहेका बेला बीमा समितिले मर्जरको बाटोे खुल्ला राखेको जनाएको छ । बीमा समितिले तोकेको चुक्ता पूँजी असार मसान्तसम्म पुर्याउन नसकेमा बीमा कम्पनीहरुले मर्जरको बाटो रोज्नु पर्ने जनाएको छ ।
समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीले २ अर्ब र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले १ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्ने निर्देशन यस अघि नै दिइसकेको छ ।
बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने-‘हामीले बीमा कम्पनीहरुलाई बाटो खुल्ला गरिदिएकै छौँ, अब समयमा चुक्ता पूँजी पुर्याउन नसकेमा मर्जरमै जानु पर्छ, यसैलाई हामीले विकल्पको रुपमा राखेका छौँ ।’ निर्देशक पौडेलले अहिले मर्जरको विषयमा बीमा समितिले भन्दापनि बीमा कम्पनीका अध्यक्षहरु तयारीमा जुटेको बताए ।
यस सम्बन्धमा युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोजकुमार लाल कर्ण अहिलेको प्राथमिकता भनेको पूँजी पुर्याउने, त्यो सम्भव भएन भने मात्र बीमा कपनीहरुले मर्जरमा जाने कदम चाल्ने बताए । सिइओ कर्ण भन्छन्– अहिले नै कम्पनीहरुले मर्जरको तयारी गरेका छैनन् ।
५ बर्षपछि बीमा कम्पनीहरु मर्जर जानै पर्ने उनको तर्क छ । ५ वर्षपछि बीमा कम्पनीहरुको बजार बिस्तार नभएमा मर्जरमा जानुको बिकल्प छैन–उनले भने । तर बीमा कम्पनीको बजार बिस्तार भएमा भने मर्जरको गर्नुपर्ने स्थिति नआउने उनको भनाई छ ।
यसैगरी, सगरमाथा इन्स्योरन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चंकी क्षेत्री बीमा कम्पनीहरु अहिले नै मर्जरमा जानु पर्ने अवस्था नरहेको बताए । लगभग सबैले चुक्ता पूँजी पुर्याउँछन्, किनभने अहिले सबैको ध्यान पूँजी वृद्धी मै केन्द्रित छ- उनले भने ।
बैंकिङ क्षेत्रमा मर्जरको चर्चा चुलिएको बेला बीमा क्षेत्रमापनि अप्रत्यक्ष रुपमा चर्चा चलेको उनले स्वीकार गरे । कतिपय कम्पनीहरुले मर्जर नै बिकल्प ठान्दै आगामी दिनका लागि विचार विमर्श थालेको बताए ।
कर्मचारी तानातान रोकिन्छ
बीमा क्षेत्रका जानकारहरुले बीमा कम्पनीमा कर्मचारीहरुको तानातान रोक्न मर्जर सहयोगी हुन सक्ने तर्क गरेका छन् । उनीहरुले कम्पनीको संख्या धेरै हुँदा बीमा कम्पनीका कर्मचारीहरु एक अर्को कम्पनीमा जाने वातावरणको पूर्ण रुपमा अन्त्य हुने जानकारी दिए ।