काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८६ करोड गरी उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । याे अघिल्लाे आवकाे तुलनामा करिब साढे १६ प्रतिशत बढी हाे ।
चालु आवमा पुँजीगत खर्च खासै उत्साहका साथ गर्न नसकेपनि आगामी आवका लागि सरकारले आगामी बर्षको लागि पुँजीगततर्फ कुल बजेटको २६.६ प्रतिशत रकम छुट्याएका छन् भने चालुतर्फ ६२.४ प्रतिशत तथा वित्तीय व्यवस्थामा ११ प्रतिशत बजेट विनियोजन गरेका हुन् । नयाँ संविधानको व्यवस्थाअनुसार गठन भएको संघीय संसदको यो दोस्रो बजेट हो ।
सरकारले उक्त बजेटको स्रोतका लागि राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड र अनुदानबाट ५७ अर्ब ९९ करोड उठाउने लक्ष्य लिइएको छ । अपुग रकममध्ये २ खर्ब ९८ अर्ब बैदेशिक ऋण र १ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट उठाउने लक्ष्य लिइएको छ ।
सरकारले चालु आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेको थियो । सो बजेटमध्ये ८ खर्ब ४५ अर्ब ४४ करोड चालु खर्च थियो भने तीन खर्ब १३ अर्ब पुँजीगत खर्च र एक खर्ब ५५ अर्ब ७१ करोड वित्तीय व्यवस्थाका लागि खर्च विनियोजन गरिएको थियो ।
सरकारले ठूलो आकारको बजेट ल्याएपनि हालसम्म हालसम्म कुल बजेटको करिब ५७.०९ प्रतिशतमात्रै खर्च भएको छ । जसमध्ये चालु खर्चतर्फ ६५.९६ प्रतिशत, पुँजीगतर्फ ४३.८१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३५.११ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।